थारू समुदायमा रहेका बरघरहरूको सहयोगले पालिकाको न्यायिक समितिलाई काम गर्न सहज भएको छ । सोही कारणले पालिकाको न्यायिक कार्य प्रभावकारी देखिएको छ ।
थारु समुदायको बाहुल्यता भएको बाँकेको बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले सामाजिक रुपमा थारु समुदायका अगुवा र निर्णायक मानिने बरघरको सहयोगले गाउँपालिकाको न्यायिक कार्य सहज र प्रभावकारी बन्दै गएको बताइन् ।
उनले बरघरको कुरा समाजले मान्ने भएकाले उनीहरुको सहयोगले न्यायिक समितिको काममा ठूलो सहयोग पुगेको बताइन् । उपाध्यक्ष रोकायले थपिन्, ‘थारू समुदायमा रहनुभएका बरघरहरूले गर्दा हाम्रो पालिकामा रहेको न्यायिक समितिलाई काम गर्न सजिलो भएको छ ।’
थारू समुदायमा हुने धेरै विवादहरू गाउँमै बरघरले हल गर्ने भएकाले समितिसम्म उजुरीहरू कमै मात्रामा आउँछन् । आएका उजुरी सल्टाउन पनि बरघरको सहयोग पाउँदा सहज रुपमा सल्टिने गरेको रोकायको भनाइ छ ।
थारू समुदायबाट परेका उजुरीमा बरघरबाटै समस्या समाधान हुनेभएकाले न्यायिक समितिलाई काममा धेरै सहज भइरहेको गाउँपालिकाले जनाएको छ । सोही कारणले बैजनाथ गाउँपालिकामा बरघर ऐन लागू गर्ने तयारी भइरहेको उपाध्यक्ष रोकायले जानकारी दिइन् ।
उनले भनिन्, ‘पालिकामा बरघर ऐन लागू गर्न छलफल भइसकेको छ । बजेट पनि विनियोजन गरिएको छ, तर ऐन लागू हुन नसकेकाले छिट्टै बरघर ऐन लागू गर्नेछौँ ।’ बर्दियाको बारबर्दिया नगरपालिकाले मात्र यस क्षेत्रमा बरघर ऐन लागू गरेको छ ।
बारबर्दियाको अनुभवले पनि काममा सहज हुने जनाइएको छ । बैजनाथमा बरघर ऐन लागू गर्न थारू राष्ट्रिय आयोगले ‘बरघर ऐन तथा समावेशिता’ विषयमा एक कार्यक्रम समेत आयोजना गरिसकेको छ ।
सो कार्यक्रममा ‘बरघर ऐन तथा समावेशिता’को विषयमा समुदायस्तरमा गहन रूपमा छलफल गरिएको थारू राष्ट्रिय आयोगका सदस्य सुबोधसिंह थारूले जानकारी दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, थारू समुदायका अगुवा, बरघर लगायतको उल्लेख्य उपस्थिति थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके