सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जको फोहोर व्यवस्थापनमा सहज

बाँकेको नेपालगन्जमा रहेका साना तथा ठूला १०५ स्वास्थ्य संस्थाको स्वास्थ्यजन्य फोहोर व्यवस्थापन अब सहज भएको छ । ती संस्था फोहोर व्यवस्थापनको झन्झटबाट मुक्त भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले जिआइजेडको सहयोगमा एकीकृत स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थाप लागू गरेपछि स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि ढुवानीका साधन विभिन्न अस्पताल, ल्याब, पोलिक्लिनिकमा पुग्ने गर्छन् ।

नेपालगन्जमा रहेका मेडिकल कलेज, नर्सिङहोम, अस्पताल, मेडिकल, ल्याब लगायतका विभिन्न स्वाथ्य संस्थाबाट निस्कने स्वास्थ्यजन्य फोहोर स्वच्छ नेपाल, हाम्रो अभियान नामक संस्थाले निश्चित शुल्क लिएर एक वर्षदेखि व्यस्थापन गर्दै आएको संस्थाका अध्यक्ष भानु भट्टले जानकारी दिए ।

सो संस्थाले स्वास्थ्यजन्य फोहोर उठाउनका लागि स्थानीय सरकारसँग १० वर्षको ठेक्का लिएको छ । स्वास्थ्य संस्थाबाट दुई प्रकारको फोहोर उठाएको संस्थाले प्रतिदिन हानिकारक स्वास्थ्यजन्य फोहोर करिब ९० किलोग्राम र सामान्य स्वास्थ्यजन्य फोहोर प्रतिदिन १५० किलोग्राम उठेको जानकारी दिएको छ ।

अध्यक्ष भट्टले उक्त फोहोर व्यवस्थापनका लागि वातावरण विज्ञसहित १२ जनाको जनशक्ति भएको जानकारी दिँदै त्यसका लागि एउटा बक्स ट्रली र साधरण ट्रली भएको बताए । ‘सुरुमा हामीले पाँच लाख घाटा खाएर काम गर्यौँ । तर अहिले परिस्थिति बदलिएको छ,’ उनले भने ।

संस्थाबाट उठाएको फोहोर उपमहानगरपालिकाको वडा नं २३ स्थित हिरमिनियास्थित ‘ल्याण्डफिल साइट’ परिसरमा व्यवस्थापन गरिएको छ । विभिन्न अस्पताल, मेडिकल, नर्सिङहोम, क्लिनिकले निकालेको फोहोरको तौलका आधारमा रु. ३०० देखि रु. ७० हजारसम्म मासिक शुल्क तिर्ने गरेका छन् ।

वातावरण इन्जिनियर प्रकाश डिसीले एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि त्यसको परिणाम सकारात्मक देखिएको उल्लेख गर्दै यसमा सबैको सहयोग आवश्यक हुने बताए ।

फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि जिआइजेडले दुईवटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको छ । फोहर व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले संरचनासमेत निर्माण गरेको छ । संरचना निर्माणमा रु. ४६ लाख लागत लागेको बताइएको छ ।

कतिपय फोहोरलाई प्रशोधनसमेत गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन गर्न सहज भएको छ । उपमहानगरपालिकाले नियमितरूपमा निस्कने प्रतिदिन २५ टन फोहोरको व्यवस्थापन गर्दै आएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १५:०३

लोकप्रिय