सूचनाको शक्ति - The Power Of Information

        

नजिकैको पहाड भासिएपछि कर्णाली पुल जोखिममा

कर्णाली पुल नजिकै भासिएको पहाड ।

मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको कर्णाली पुल पहिरोको समेत जोखिममा छ । पुलको उत्तर पूर्वतर्फ ठूलो पहिरो गएको छ । पुलदेखि नजिकैको पहाड भासिएको छ । विगत केही वर्ष यता सो पहाडमा स–सानो पहिरो जाने गरेको थियो ।

यस वर्षको वर्षायाममा भने पहाड नै भासिएपछि जोखिम बढेको हो । पुलबाट करिब एक–डेढ किलोमिटरको दूरीमा रहेको पहिरोले पुलको जमिनमुनिको भागलाई असर पार्न सक्ने देखिन्छ । पुल नजिकैको पहाड भासिएको बारेमा संरक्षणको जिम्मेवारी रहेको सडक डिभिजन कार्यालय बाँकेले अनभिज्ञता जनाएको छ ।

कार्यालय प्रमुख निरजशाक्यले पहिरोको बारेमा कुनै जानकारी नभएको बताए । उनले कार्यालयको क्षेत्राधिकारभित्र पुलको मर्मत सम्भार मात्रै रहेको बताए । ‘हामीले पुलको मर्मत सम्भार मात्रै गर्ने हो,’ उनले भने, ‘पहिरोको बारेमा अहिलेसम्म जानकारी छैन । तपाईँले जानकारी दिनुभयो अब हामी हेर्छौँ ।’

पहाड भासिएको ठाउँ बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्छ । निकुञ्जभित्र पर्ने भएकाले अहिलेसम्म कसैले पनि पहिरोको स्थलगत अध्ययन गरेको पाइएको छैन । पहिरो गएको ठाउँमा जानका लागि निकुञ्जको अनुमति लिनुपर्ने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अशोक कुमार रामले जानकारी दिए ।

उनले पहिरो गएको बारेमा निकुञ्जलाई जानकारी रहेको बताए । उनले पुल र पहिरोबिचको दूरी टाढा रहेकाले तत्काल खासै फरक नपार्ने बताए । ‘अहिले त खासै असर गर्छ जस्तो लाग्दैन,’ उनले भने, ‘पहिरो बढ्दै गयो भने भविष्यमा के हुन्छ थाहा छैन । हामीले पनि अनुमान गरेरै भन्ने मात्र हो ।’

पर्यटकीय हिसाबले समेत महत्त्वपूर्ण चिसापानीस्थितको पुल बेवारिसे अवस्थामा छ । सडक बोर्डले बजेट कटौती गरेपछि सडक डिभिजन कार्यालय बाँकेले पुलको सुरक्षार्थ खटिएका कर्मचारी र सुरक्षाकर्मी हटाएको थियो । दिनहुँ सयौँको संख्यामा सर्वसाधारण पुल हेर्न आउँछन् । दशैंतिहार, नयाँ वर्ष लगायतका अवसरमा पुल हेर्न आउनेको संख्या हजारौँ पुग्छ ।

दिनहुँ सयौँको संख्यामा सवारी साधनओहोर दोहोर गर्छन् । पुलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सर्वसाधारणको पुलमाथिको ओहोर दोहोरलाई निगरानी गर्नुका साथै सवारी साधनको रेकर्ड समेत राख्थे । उनीहरुले सर्वसाधारणलाई पुलमाथि कुनै उच्छृङ्खल गतिविधि गर्न रोक लगाउँथे । यो पुल २०४९ सालमा निर्माण भएको हो ।

निर्माण भए पश्चात् अहिलेसम्म पुल रंगरोगन र मर्मत सम्भार समेत हुन सकेको छैन । यो पुल जापानीज कम्पनी कावासाकीले निर्माण गरेको हो । एउटै पिल्लरमा ठड्याईएको पुलले तत्कालीन समयमा सुदूरपश्चिमलाई देशका बाँकी भू–भागसँग जोडेको थियो । त्यसअघि नदी पार गर्न फेरी (डोरीको सहायताले वारपार गर्ने) चढ्नुपर्थ्यो । सवारीसाधन लगायत फेरीमार्फत वारपार गर्थे ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १४:४३

लोकप्रिय