सूचनाको शक्ति - The Power Of Information

        

टी-२० विश्वकप छनौंट क्रिकेट

नेपाल टी-२० विश्वकपमा छनोट, युएई आठ विकेटले पराजित

बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान पनि विश्वकपमा छनोट

नेपाल अर्को वर्ष आयोजना हुने टी २० विश्वकप क्रिकेटमा छनोट भएको छ । २०२४ को विश्वकप वेस्टइन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । टी २० एसिया छनोट फाइनलको सेमिफाइनला युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टी २० विश्वकप क्रिकेटमा छनोट भएको हो ।

सन् २०१४ का टी २० विश्वकप क्रिकेट खेलेको नेपाल त्यसपछि बल्ल विश्वकपमा छनोट भएको हो । माथिल्लो मूलपानी मैदानमा युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्न सफल भयो । नेपाललाई जिताउन ओपनर मोहम्मद आशिफले अर्धशतकीय पारि खेले । उनले ५१ बल फेस गर्दा ६३ रन प्रहार गरे ।

यसैगरी कप्तान रोहित पौडेले पनि कप्तानी पारि खेले । उनले २० बलमा ३५ रनको नटआउट पारि खेलेका हुन् । नेपालका गुलसन झाले २२ रनको पारि खेल्दा कुशल भुर्तेलले ११ रन बनाए । युएईका निलसन केसवानी र बसिल अहमदले एक एक विकेट लिए । पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

युएईले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । युएईले नेपालविरुद्ध राम्रो सुरुआत गरेको थियो । ३ ओभरमा २९ रन बनाएको बेला नेपालले पहिलो सफलता रनआउटबाट निकालको हो । सोमपाल कामीले खालिद साहलाई आउट गर्दै युएईलाई पहिलो झड्का दिएका थिए । सोही ओभरको चौथो बलमा उनै सोमपालकले कप्तान मोहमद वसिमलाई करण केसीमार्फत आउट गराए ।

वसिमले १६ बलमा २६ रन बनाए । उनले २ छक्का र ३ चौका प्रहार गरेका थिए । तेस्रो सफलता भने सन्दीप लामिछानेले दिलाएका हुन् । उनले आशिफ खानलाई एलबीडब्ल्यू आउट गरे । आशिफले १४ बलमा १३ रन बनाउँदा एक चौका प्रहार गरे । चौथो सफलता कुशल मल्लले दिलाए । उनले ड्रिंग्स ब्रेकपछि १३ ओभरको चौथो बलमा एसिलसन सराफुलाई सोमपाल कामीबाट क्याच आउट गरेर पभेलियन फर्काए ।

यसैगरी पाँचौं सफलता भने कप्तान रोहित पौडेलले दिलाए । रोहितले अलि नासेरलाई कुशल भुर्तेलको उत्कृष्ट क्याचको मद्दतले आउट गरे । नासेर ४ रन बनाएर आउट भएका हुन् । छैटौं सफलता सन्दीपले दिलाए । सन्दीपले व्यक्तिगत दोस्रो विकेट लिँदा बसिल अहमद आउट भए । बसिललाई गुल्सनले डिप मिडविकेटमा क्याच गर्दै आउट गरेका हुन् । बसिलले १ रनमात्रै बनाए ।

सातौं विकेटको रुपमा युएईका सर्वाधिक रनकर्त बृत्य अरविन्द १९.१ ओभरमा आउट भएका थिए । उनलाई कुशल मल्ले आउट गरेका हुन् । बृत्यले ५१ बल खेल्दा २ छक्का र ८ चौकाको मद्दतले ६४ रनको पारि खेलेका थिए । कुशलले उनलाई गुलसन झामार्फत क्याच गराए । आठौं सफलता पनि कुशलले नै दिलाए । १९.३ ओभरमा उनले आयान अफजल खानलाई कुशल भुर्तेलमार्फत क्यान आउट गराए । उनी १ रन बनाएर आउट भएका हुन् । नेपालका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १४ रन खर्चिएर २ विकेट लिए ।

यसैगरी सोमपाल कामीले ३ ओभर बलिङ गर्दा १५ रन दिए १ विकेट लिँदा कुशल मल्लले ३ ओभर बलिङ गरेर १० रन खर्चिदैं ३ विकेट हात पारे । त्यस्तै रोहित पौडेलले १ ओभरमा ६ रन दिएर १ विकेट लिँदा अभिनाश बोहोराले ३ ओभरमा ३६ रन दिएर विकेटविहीन बने । त्यसैगरी करण केसीले ३ ओभरमा २६ रन खर्चिए । गुलसन झाले ३ ओभरमा २४ रन दिए । एसिया छनोटको फाइनल उपाधिका लागि भने नेपाल र ओमान भिड्ने भएका छन् ।

ओमान पनि विश्वकपमा छनोट

एसिया छनोट अन्तर्गत त्रिवि क्रिकेट मैदान मूलपानीमा बहराइनलाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाउँदै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको हो । बहराइनले दिएको १०७ रनको लक्ष्य ओमानले १४.१ ओभरमा सवै विकेट सुरक्षीत गरेर पूरा गरेको हो । ओमानको जितमा कश्यप प्रजापति र प्रतिक अथभालेले उत्कृष्ट पारि खेले । कश्यप प्रजापतिले अर्धशतकीय पारि खेल्दा प्रतिक अथभालेले २ रनले अर्धशतक बनाउन असफल भए । दुवै खेलाडी नटआउट रहेका हुन् ।

प्रजापतिले ५७ तथा अथभालेले ४८ रनको नटआउट पारि खेलेका हुन् । पहिला ब्याटिङ गरेको बहराइनले निर्धारित ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो । बहराइनका लागि इमरान अलिले सर्वाधिक ३० रन बनाउँदा अमिर विन नासरले नटआउट २६ रन बनाए । यसैगरी सर्फराज अलिले २३ रन जोडे । अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन । ओमानका अकिव इलियासले सर्वाधिक ४ विकेट लिँदा सकेल अहमदले २ विकेट लिए । त्यसैगरी विलाल खान र फयाज बट र जिसन मक्सुदले एक एक विकेट लिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १४:१३

लोकप्रिय