सूचनाको शक्ति - The Power Of Information

        

पक्राउ परेका रिगललाई अदालत लगियो

सर्वोच्च अदालतले आममाफी बदर गरेपछि पुन पक्राउ परेका बाँकेको नेपालगन्जका रिगल भनिने योगराज ढकाललाई अदालतमा पेश गरेको छ । उनलाई प्रहरीले शुक्रबार जिल्ला अदालत बाँकेमा पेश गरेको बाँकेका प्रहरी प्रमुख एसपी सुवाशचन्द्र बोहोराले जानकारी दिए ।

अदालतले रिगलले अब थप जेल बस्नुपर्ने समय निर्धारण गर्दै अब कारागार पठाउनेछ । ‘रिगल’लाई दिइएको आममाफी बदर गर्दै सर्वोच्च अदालतले बिहीबार उनलाई तत्काल पक्राउ गर्न परमादेश दिएको थियो । त्यसको दुई घन्टा भित्रै नेपालगन्जको सेतु बिक चोकबाट रिगल पक्राउ परेका थिए ।

रिगलले भने अदालतको फैसला अनुरूप आत्मसमर्पण गरेको बताएका थिए । आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गर्ने आदेशलगत्तै उनले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए ।

राष्ट्रपतिको सोही निर्णयविरुद्ध चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले रिगललाई फेरि कारागार पठाउन माग गर्दै आममाफीविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । सर्वोच्चले आममाफीलाई उल्ट्याइदिएको हो । २९ असार २०७२ सालमा २९ वर्षीय चेतन मानन्धरको खुकुरी प्रहारबाट हत्या भएको थियो ।

त्यसपछि कर्तव्य ज्यान मुद्दामा गुण्डा नाइके रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । मंगलबार र बुधबार सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार १२:२६

लोकप्रिय