सूचनाको शक्ति - The Power Of Information

        

महिना दिनदेखि दुई छोरी र श्रीमती कुरिरहेका बा

हमासले बन्धक बनाएका श्रीमती र दुई छोरी फर्कने आशमा ३७ वर्षीय योनी (दायाँतर्फ) वायाँतर्फ उनकी श्रीमती र दुई छोरी । घरको बगैँचामा बिहानको घाममा खजुरका रूखहरू बीचमा योनी आशेरले मलाई एउटा भिडियो देखाए । उक्त भिडियो उसका सानासाना दुई छोरीहरूको रहेछ । ओछ्यानमा बसिरहेका थिए ।

भिडियोमा उनीहरुले ‘ह्याप्पी बर्थडे टु यू’ गीत गाइरहेका थिए । ठूली छोरीको नाम राज हो । उनको लामो कपाल छ । गोरो वर्णकी उनको उमेर चार वर्ष भयो । अविव उनकी बहिनी हुन् । उनी अलि कालो वर्णकी छन्, बुबा जस्तै । उनको उमेर दुई वर्ष मात्र भएको छ । ‘गत जुलाईमा उनीहरूले मेरो जन्मदिनमा ह्याप्पी बर्थडे टुयू भन्दै भिडियो बनाएका थिए,’ योनीले भने । यो भिडियो बनेको चार महिनापछि ३७ वर्षीय बाबु योनी एक्लै छन् ।

आमा डोरोनसँगै दुवै छोरीहरूलाई हमास समूहले यतिबेला बन्धक बनाएको छ । अक्टोबर ७ मा अप्रत्यासित रूपमा हमास समूहले क्रस बोर्डर आक्रमण गरेको थियो । उक्त आक्रमणमा कैयौँलाई मारेको हमास समूहले केहीलाई बन्धक बनाएको छ । गाजामा बन्दी बनाइएका २४० मध्ये उनीहरूको उमेर सबैभन्दा सानो भएको विश्वास गरिएको छ । ‘बिदाको समयमा उनीहरू हजुरआमालाई भेट्न निर ओजमा गएका थिए,’ योनी भन्छन् ।

इजरायली क्षेत्र किबुज गाजा क्षेत्रबाट दुई माइल मात्र टाढा छ । यो आक्रमणबाट सबैभन्दा नराम्रोसँग प्रभावित क्षेत्र किबुज हो । किबुजमा बस्ने चार जनामध्ये एक जनालाई हमासले मारेको वा अपहरण गरेको विश्वास गरिएको छ । त्यो दिन (अक्टोबर ७ मा) योनी परिवारसँग थिएनन् । परिवार हजुरआमालाई भेट्न किबुज गएपनि योनी भने १०० माइल टाढाको घरमा थिए ।

योनीकी दुई वर्षीया छोरी अविव ।

उनको परिवारलाई हमासले अपहरण गरेको पहिलो पुष्टि गाजाभित्रबाट टिकटकमा पोस्ट गरिएको भिडियोमा आयो । योनीले उक्त भिडियो पनि देखाए । पाँच–सेकेन्डको क्लिपमा योनीकी पत्नी डोरोनलाई देख्न सकिन्थ्यो । उक्त भिडियोमा रात समयमा सुत्नका लागि लगाएको लुगामा नै डोरोन थिइन् । हमास बन्दुकधारीहरूले घेरिएको अवस्थामा भिडियो खिचिएको छ ।

भिडियोमा राज गुलाबी समर ड्रेसमा छन् । ‘त्यो अविवको हात हो,’ योनीले भने । उनी आफ्नी आमातर्फ पाँचवटा स–साना औंलाहरू देखाउँदै छिन् । यो तीन हप्ताभन्दा बढी अघिको भिडियो थियो । यो बीचमा योनीले आफ्नो परिवारलाई देखेको र सुनेको छैन । तिनीहरूको हजुरआमा इफरात काट्ज मृत फेला परेकी थिइन् । उनका पार्टनर गाडी मोजेस पनि सम्पर्कविहीन छन् ।

‘यस्तो अवस्थालाई परिभाषित गर्ने एक मात्र शब्द नरक हो,’ योनी भन्छन्, ‘नरकको परिभाषा यही हो । मेरो परिवारले के खाइरहेको छ भन्ने थाहा नभएको बेला म कसरी खान सक्छु ? चिसो वा धेरै तातो छ भनेर थाहा नभएको बेला कसरी सुत्न सक्छु ? एउटा बुबाको रूपमा, यदि तपाईंले आफ्ना छोराछोरीहरूलाई ओछ्यान वा सोफामा हाम फालेको देख्नुभयो भने पनि तपाईं चिन्ता गर्नुहुन्छ कि तिनीहरू टाउको ठोकिन्छ कि भनेर । त्यसैले, कल्पना गर्नुहोस् कि म यो अवस्थामा कस्तो महसुस गर्छु । सबै कुरा मलाई डरलाग्दो छ ।’

अहिलेको लागि योनीसँग सबै सम्झना मात्र बाँकी छन् । परिवार घरभित्र, उनीहरूका सम्झना जताततै छन् । भित्तामा तस्बिरहरू कोरेका छन् र बालबालिकाको तस्बिरहरू छन् । भित्तामा रातो रङमा स–साना हातका छापहरू छन् । ‘उनीहरू यस्ता ड्रइङ कोर्न मन पराउँथे । यो चाहिँ मैले हजुरको लागि गरिदिएको हो,’ ठूली छोरी राजले भनेकी थिइन् । त्यही तस्बिर देखाउँदै राज अहिले उनलाई सम्झन्छन् । ‘यो सुपरहीरो हो,’ उनले भनेकी थिइन् ।

योनीकी चार वर्षीया छोरी राज ।

उनीहरूको खेलौनामा भान्सा पनि थियो । त्यही खेलौनाका भान्सामा छोरीहरूले ‘सधैं मेरो लागि खाना पकाउने खेल खेल्न मन पराउँथे ।’ योनीले विस्तार लगाइरहे । साना जुत्ताहरूको हार पुस्तकहरू बीच लाइनमा राखिएको छ । ‘मैले कोलाहल हुने खेलौनाहरूबाट सबै ब्याट्रीहरू निकाल्नुप¥यो,’ उनी भन्छन्, ‘तिनीहरू ऊर्जाका स–साना बलहरू थिए । घरमा तीन जना महिलाहरू भएकाले कुनै एक पुरुषका लागि हल्लीखल्लीको कुनै कमी थिएन । पर्याप्त आवाज थियो,’ योनीले मुस्काउँदै भने ।

मैले गाजाको पीडाबारेमा उनलाई सोधेँ । गाजामा लगभग एक महिनादेखि इजरायली बमबारी भइरहेको छ । संयुक्त राष्ट्रले हजारौं बालबालिका मारिएका वा घाइते भएको बताएको छ । ‘बालबालिका बालबालिका नै हुन् । उनीहरू कुन देशका हुन् भन्ने कुराले कुनै फरक पर्दैन,’ उनी भन्छन्, ‘बालबालिकाहरू युद्धको सीमाभन्दा टाढा हुनुपर्छ । मेरा शत्रुका सन्तानलाई पनि म घृणा गर्न सक्दिनँ । तपाईं कसरी बच्चालाई घृणा गर्न सक्नुहुन्छ !’

मैले उनीसँग हमासले सार्वजनिक गरेका भिडियो (बन्धक)हरूको बारेमा पनि जिज्ञासा राखेँ । ‘यस्ता भिडियो हेर्न सहज हुँदैन,’ योनी जवाफ दिन्छन् । ‘उनीहरू अपहरणमा परेकाहरू हुन् । तिनीहरू (हमास)ले मनोवैज्ञानिक लडाइँका लागि बन्धक बनाएका हुन् । त्यसकै फाइदा उठाइरहेका छन् ।’ ३७ वर्षको उमेर गुजारेका योनीलाई आफ्नो जन्म भएपछिका इजरायली र प्यालेस्टिनीहरूबीचको द्वन्द्वबारे जानकारी छ । त्यहाँभन्दा अघिको द्वन्द्वबारे उनका आमाबाबुलाई थाहा थियो । तर उनका लागि ७ अक्टोबर सबैभन्दा खराब क्षण हो । ‘यो प्रलयको दिन हो,’ उनी भन्छन् ।

उनी निशब्द बन्छन् । ‘मलाई थाहा छ यो कठोर शब्द हो । तर त्यो दिन यहुदी र इजरायली जनताको इतिहासमा देखेको सबैभन्दा खराब दिन थियो,’ उनले मसँग भने, ‘हामीसँग अर्को विकल्प छैन । यो मेरो आफ्नै व्यक्तिगत मामला जस्तै हो । कि यो लडाइँ लड्ने हो कि यतिकै छोड्ने हो । हामी पुन जाग्नेछौँ । पुनः जाग्न धेरै गाह्रो छ । मलाई विश्वास छ, दीर्घकालमा हामी पुनः जागेका हुनेछौँ । विजय हुनेछौँ ।’ यद्यपि अहिलेको लागि योनीले गर्न सक्ने भनेको प्रतीक्षा मात्र हो । आशा गर्नु र कुर्नु । अनि आफ्नो परिवारको पीडा सुनाउनु मात्र हो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ०९:४१

लोकप्रिय