सूचनाको शक्ति - The Power Of Information

        

युद्धग्रस्त गाजापट्टीमा २३ लाख प्यालेस्टाइनी भोकभोकै

गाजापट्टीमा मानिसहरु अहिले भोकभोकै बाँचिरहेका छन् । औषधि, खाद्यान्न, पानी र बिजुलीको यहाँ अभाव छ । जसकारण झन्डै २३ लाख प्यालेस्टाइनीहरु भोकभोकै छन् । हमासले ७ अक्टोबरमा इजरायलमाथि हमला गरेपछि इजरायलले यहाँ पूर्ण नाकाबन्दी लगाएको थियो ।

‘गाजामा आधारभूत आवश्यकताका वस्तुहरु उपलब्ध छैनन् । खाना र पानीकै कमी छ । मानिसहरु निकै कस्टकर रुपमा बाँचेका छन्,’ अलजजीरासँगको कुराकानीमा विश्व खाद्य कार्यक्रमका प्रवक्ता अबिर इटिफाले भने, ‘वेस्ट बैंकमा पनि अवस्था दिनहुँ बिग्रँदैछ ।’

गाजामा कति सहयोग पुग्यो ?

२१ अक्टोबरयता केवल ८४ वटा ट्रक मात्रै सहयोग सामाग्री बोकेर रफा हुँदै गाजा पुगेका छन् । ७ अक्टोबरदेखि द्वन्द्व सुरु भएयता इजरायलले नाका बन्द गरेर गाजामा हमला गरिरहेको थियो । त्यसयता, २१ अक्टोबरमा मात्रै रफा नाका खोलियो । युद्ध सुरु हुनुअघिसम्म यस क्षेत्रका मानिसहरुका लागि सहयोग सामाग्री बोकेर झन्डै ५०० वटा ट्रक दिनहुँ आउँथे ।

अहिले आइरहेका थोरै सहयोग सामाग्रीमा पनि इन्धन समावेश छैन । जबकी, अस्पताल सञ्चालन गर्न, पानी तथा ढलको व्यवस्थापन र बिजुलीका लागि इन्धन अत्यावश्यक छ । ‘मानविय सहयोग नपाएसम्म मानिसहरु भोकै रहनेछन् । हामीलाई धेरै धेरै ट्रक (सहयोग सामाग्री बोकेका) चाहिएको छ,’ विश्व खाद्य कार्यक्रमकी कार्यकारी निर्देशक सिन्डी म्याकेनले भनिन् ।

कति सहयोग आवश्यक छ ?

विश्व खाद्य कार्यक्रमका अनुसार २१ अक्टोबरमा रफा खुलेयता भित्रिएका ट्रकमा १४१ टन खाद्यान्न (क्यानमा प्याक गरिएको माछा र सनफ्लावर तेल लगायत) छ । इजरायलले गाजाको उत्तरबाट दक्षिणतर्फ बसाइँ सर्न निर्देशन गरेका ११ लाख प्यालेस्टाइनीहरुका कम्तिमा ४० ट्रक खाद्यान्न सामाग्री आवश्यक पर्ने विश्व खाद्य कार्यक्रमले जनाएको छ । यसका लागि सहयोग कार्यक्रमलाई तिव्र रुपमा बढाउनुपर्ने खाद्य कार्यक्रमका अधिकारीहरु बताउँछन् ।

विश्व खाद्य कार्यक्रमले के गर्दैछ ?

इजिप्टसँगको सीमामा ४० वटा ट्रकहरु गाजा छिर्ने प्रतिक्षा गरेर बसेका छन् । त्यस्तै, ९३० टन खाद्यान्न भण्डारण गरिएको छ । ट्रकमा क्यानमा राखिएको माछा, पास्तासहितको खाद्यान्न पार्सल, गहँु, गेडागुडीलगायत खाद्यान्न छन् । विश्व खाद्य कार्यक्रमले आपत्कालीन अवस्थामा गाजा र वेस्ट बैंकका ६ लाख २८ हजार ५०० भन्दा धेरै मानिसलाई खाद्यान्न र नगद सहयोग गरेको छ ।

त्यसैगरी, राष्ट्रसंघको आश्रय शिविरमा बसेका झन्डै ४ लाख ७५ हजार मानिसलाई खाद्य कार्यक्रममार्फत माछा, रोटीलगायत खाद्यान्न उपलब्ध गराइएको छ । गाजामा बिजुली र इन्धन अभावका कारण रोटीको आपुर्ति कम हुँदैछ । गाजामा रहेका ५ वटा अन्न मिलमध्ये अहिले एउटामात्र सञ्चालनमा छ ।

विश्व खाद्य कार्यक्रमले दैनिक २ लाख २० हजार मानिसलाई २३ वटा बेकरीहरुमार्फत उत्पादीत आहार दिदैं आएको थियो । अहिले यसमध्ये दुईवटा बेकरीले मात्रै कार्य सञ्चालन गरिरहेका छन् । उनीहरुले आफ्नो क्षमताको ६ गुणा बढी उत्पादन गरिरहेका छन् ।

हमासको आक्रमणअघिको अवस्था

हमासले आक्रमण गर्नुअघि (७ अक्टोबर पहिले) प्यालेस्टाइनको जनसंख्याको ३३ दशमलव ६ प्रतिशत अर्थात् १८ लाख ४० हजारले ले खाद्यान्नको संकट झेलिरहेको थियो । विशेषगरी गाजापट्टीका महिलामा खाद्य असुरक्षा अत्यधिक छ, यहाँ महिलाको नेतृत्वमा रहेका ६३ दशमलव ३ प्रतिशत परिवारमा खाद्य असुरक्षा छ । ७ अक्टोबरपछि इजरायलले यहाँ पानीको पाइपलाइन काटिदियो ।

त्यसैगरी इन्धन र बिजुलीको आपुर्ति पनि बन्द भयो । यहाँ प्रदूषित पानी तथा सरसफाईको कमीका कारण हैजा र अन्य घातक संक्रामक रोगहरु फैलनसक्ने चेतावनी राष्ट्रसंघका एजेन्सीहरुले दिइसकेका छन् । समयमै मानवीय सहयोग र राहतका सामाग्री पु¥याउनुपर्ने आवश्यकता उनीहरुले औल्याएका छन् ।

स्रोत : अलजजीरा
प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ०९:३०

लोकप्रिय