सूचनाको शक्ति - The Power Of Information

        

इजरायलले भन्यो, ‘विपीन जोशी हमासको नियन्त्रणमा’

इजरायल-गाजा सीमा क्षेत्रमा रहेको किबुज अलुमिमबाट हमासको अपहरणमा परेका विपिन जोशी । उनको अवस्था अहिलेसम्म अज्ञात रहेको छ ।

इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले दाबी गरेको छ । अक्टोबर ७ देखि बेपत्ता जोशी हमासको बन्धक बनेको इजरायलले नेपालको परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत् जानकारी गराएको हो ।

यद्यपि उनी अहिले कहाँ र कुन अवस्थामा छन् भन्ने चाहिँ खुल्न नसकेको इजरायलय सरकारले उल्लेख गरेको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेको भनिएका जोशीको उद्धारका लागि गम्भीर पहलकदमी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । कतार सरकारमार्फत् कुरा गरेर उनलाई उद्धार गर्न सकिने सम्भावना औंल्याइएका छन् । यो प्रक्रियामा गम्भीर पहलकदमी गर्न सभामुखमार्फत प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराउँदछु,’ महामन्त्री शर्माले बिहीबार प्रतिनिधिसभा बैठकमा भने ।

इजरायलयको प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित १२२ विदेशी नागरिक रहेको बताएको छ । तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन्  । हमासले अर्जेन्टिनाका २१, जर्मनीका १८, अमेरिकाका १०, फ्रान्स र रसियाका ७/७ जना नागरिकलाई बन्धक बनाएको छ ।

हंगेरीका ४, पोल्यान्ड र पोर्चुगलका ३/३, चीन, फिलिपिन्स, रोमानिया, तान्जिनिया र बेलायतका २/२ जनालाई हमासले बन्धक बनाएको छ । अस्ट्रिया, ब्राजिल, क्यानडा, डेनमार्क, आयरल्यान्ड, लुथिनिया, मेक्सिको, नेदरल्यान्ड्स, सर्बिया, दक्षिण अफ्रिका, श्रीलंका, युक्रेन र उरुग्वेका एक–एक जना हमासको नियन्त्रणमा छन् ।

हमासले ११८ इजरायली नागरिकलाई बन्धक बनाएको इजरायली सरकारको भनाइ छ । बन्धकमध्ये ५ जनालाई हमासले मुक्त गरेको छ । गत अक्टोबर २० मा दुई अमेरिकी नागरिक र २३ अक्टोबरमा दुई जना इजरायली वृद्धालाई हमासले छाडिदिएको थियो । २९ अक्टोबरमा एक इजरायली सेना पनि मुक्त भएका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ०९:२३

लोकप्रिय