सूचनाको शक्ति - The Power Of Information

        

‘फिल्मी शैली’मा पाँच महिनादेखि सुन व्यवसायी ‘गायब’

गत वैशाख ४ गतेको दिन । मोरङ उर्लाबारी–८ दुर्गापुरी बजारका सुन व्यवसायी तेजप्रकाश श्रेष्ठ अचानक ‘गायब’ भए । कृष्ण सुनचाँदी पसलका सञ्चालक उनी ‘गायब’ भएको पाँच महिना बित्दा फेला परेका छैनन् । उनको अवस्थाबारे न परिवारलाई थाहा छ न प्रहरीलाई ।

श्रेष्ठ जुन दिन गायब भए, उनीसँग करिब ६० प्रतिशत हुलिया मिल्ने धिकु भनिने धिक तामाङ भने गम्भीर घाइते अवस्थामा फेला परेका थिए । धादिङ घर भई दमक बस्दै आएका ४४ वर्षीय तामाङ दमकको चिया बगानमा गम्भीर अवस्थामा फेला परेका थिए ।

‘राति ११ बजेको हुँदो हो प्रहरीले चिया बगानमा उनलाई अचेत अवस्थामा फेला पार्यो, टाउकोमा गम्भीर चोट थियो,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले भने ।

तामाङ बिएन्डसी अस्पताल विर्तामोडमा उपचारपछि घर फर्के । प्रहरीले आफन्त बोलाएर उनलाई जिम्मा लगायो । उनी निको भए पनि घटनाबारे केही बताउन सकेनन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार यो घटनामा फिल्मी दृश्य देखिन्छ । तामाङ यस्तो अवस्थामा भेटिएका थिए कि श्रेष्ठले लगाएको भित्री बस्त्रसम्म उनको शरीरमा थियो ।

श्रेष्ठले चलाउने मोटरसाइकल पनि श्रेष्ठ घाइते भएको स्थानमै भेटिएको थियो । तामाङ मोटरसाइकल चलाउन जान्दैनन् भन्ने प्रहरीको हालसम्मको बुझाइ रहेको छ । ‘सबै लुगाकपडा तथा श्रेष्ठको पर्ससमेत तामाङको गोजीमा थियो,’ ती अधिकृतले भने । रिजालका अनुसार यो घटनामा प्रहरीले अहिलेसम्म कुनै ‘क्लू’ फेला पार्न सकेको छैन ।

‘अनुसन्धान भइरहेको छ, तर प्रहरीले कुनै पनि क्लू फेला पार्न नसक्दा घटनाको वास्तविकता के हो रहस्यमै छ,’ रिजालले भने, ‘श्रेष्ठको खोजी भइरहेको छ, तर फेला पार्न नसकिएकाले पत्ता लाग्न सकेको छैन ।’ प्रहरीका अनुसार तामाङ र श्रेष्ठ वैशाख ४ गते बिहान भेट भएका थिए । दुबै जना इलामको फिक्कलसम्म पुगेर फर्किँदा राति घटना घटेको देखिन्छ ।

उनीहरू फिक्कलसम्म पुगेको सिसिटिभी फुटेज प्रहरीले फेला पारेको छ । ‘फर्किँदाको सिसिटिभी फुटेज भने पहिचान गर्न सकिएको छैन, राति भएको कारण पनि हुनसक्छ,’ रिजालले भने । उनीहरू कसरी परिचित भए भन्ने ठ्याक्कै यकिन नभएको प्रहरीले जनाएको छ । तामाङ दमकको पासवान होटलमा काम गर्ने गरेका थिए ।

घटना हुनु एक दिनअघि मात्रै उक्त होटलले उनलाई कामबाट निकालेको थियो । ‘होटलमा गएको बेलामा चिना परिचय भएको हुनुपर्छ,’ अनुसन्धानमा संलग्न ती अधिकृतले भने । त्यसअघि तामाङ दमककै निजी विद्यालयमा पढाउँदै आएका थिए । अत्यधिक मदिरा सेवन गर्ने गरेका कारण विद्यालयले उनलाई निकालेको थियो ।

तामाङकी श्रीमती वैदेशिक रोजगारीमा रहेको बुझिएको छ । तामाङ धादिङबाट कहिले र कसरी दमक आइपुगे भन्ने पनि केही नखुलेको प्रहरी बताउँछ । प्रहरीले घटना अनुसन्धान गर्दा आर्थिक पाटोबाट पनि खोजी गरिरहेको छ । श्रेष्ठको सुन पसलले तीन वटा कम्पनीमा इन्सुरेन्स गरेको देखिएको छ । त्यसको रकम एक करोडभन्दा बढी छ ।

श्रेष्ठले पहिले जुन बैंकबाट ऋण लिएका थिए त्यो पनि अर्को बैंकमा सारेको देखिएको छ । प्रहरी श्रेष्ठको घरसम्म पुग्यो । सोधिखोजी गर्यो । तर, उनका परिवारले खासै केही बताउन नसकेको ती अधिकृतले बताए । ‘मानिस फेला नपरेकाले घटनाको अनुसन्धान जहाँको तहीँ छ,’ प्रहरी नायब उपरीक्षक रिजालले भने ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ०९:१५

लोकप्रिय