सूचनाको शक्ति - The Power Of Information

        

इजरायली सेनाले भन्यो, ‘हामीले गाजा सहरलाई पूरै घेरिसक्यौं’

हमासविरुद्धको संघर्षका क्रममा आफूहरुले गाजा सहरलाई पूरै घेरिसकेको इजरायली सेनाले बताएको छ । इजरायल डिफेन्स फोर्सका प्रवक्ता डेनियल हगारीका अनुसार सेनाले हमासका थुप्रै अड्डाहरुमा आक्रमण गरेको छ । गाजा पट्टीको उत्तरी इलाकास्थित गाजा सिटी यु्द्ध सुरु हुनु अघिसम्म घना आवादी भएको इलाका थियो ।

त्यहाँ करिब सात लाख मानिस बस्थे । १३ अक्टोबरमा इजरायलले उत्तरी गाजाका मानिसलाई दक्षिणी इलाकामा जान चेतावनी दियो । अहिले गाजा सिटीमा कति मानिस छन् भन्ने यकिन छैन । तर सार्वजनिक भएका तस्बिर हेर्ने हो भने सहर पूरै ध्वस्त भएको छ र सडक खाली छन् । इजरायलले बारम्बार भनिरहेको छ, ‘गाजा सिटी हमासको सबैभन्दा बढी पकड भएको इलाका हो र उ त्यसलाई नष्ट गर्न चाहन्छ ।’

इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको संख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयका प्रवक्ता असरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको संख्या नौ हजार ६१ पुगेको र घाइतेको संख्या ३२ हजार नाघेको जानकारी दिए ।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको उनले बताए । गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको सुरुवातदेखि गाजापट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायलले प्रयोग गर्ने विस्फोटक पदार्थको मात्रा दुई हजार ५०० टनभन्दा बढी वा प्रतिवर्ग किलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासि आक्रमण गरी हजारौँ रकेट प्रहार गरेको थियो र इजरायली भूमिमा घुसपैठ गरेको थियो, जसमा इजरायलमा कम्तीमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो । यसको जवाफमा इजरायली सेनाले गाजापट्टीविरुद्ध हवाई आक्रमण र स्थलगत कारबाही सुरु गरेको थियो भने प्यालेस्टिनी इलाकामा नाकाबन्दी लगाएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ०८:५५

लोकप्रिय