सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रसंघका महासचिवको हस्ताक्षर चोरेर अढाई करोड ठग्ने सुरुची भुजेल

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको हस्ताक्षर किर्ते भएको छ । पोखरा ५ की सुरुची भुजेलले महासचिव गुटेरेसको हस्ताक्षर किर्ते गरि ९० जना बढीलाई ठगी गरेकी हुन् । भुजेललाई जिल्ला अदालत काठमाडौंले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।

उनले संयुक्त राष्ट्रसंघमार्फत टर्की पठाउने आश्वासन दिएर पीडितहरूबाट अढाई करोडभन्दा धेरै रकम उठाएकी थिइन् । भुजेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत महिना पक्राउ गरेको थियो । भूकम्पले क्षतिग्रस्त टर्कीका सहरको पुनर्निर्माणका लागि राष्ट्रसंघमार्फत लैजाने भन्दै सुरुची लगायतले झुक्याएर ठगी गरेका थिए ।

महासचिव गुटेरेसले नै हस्ताक्षर गरेको कामको अफर देखाएर उनीहरूले पैसा उठाएका थिए । ९० जना पीडितले दुई करोड ५९ लाख ७९ हजार ५०० रुपैयाँ ठगी गरिएको भन्दै सिआइबीमा जाहेरी दिएका थिए । सोही आधारमा अनुसन्धान गरी सरकारी वकिलमार्फत मुद्दा दायर गरिएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । उनलाई सात वर्षसम्म कैद सजायको माग गरी मुद्दा दायर गरिएको थियो ।

प्रहरीले सुरुचिका श्रीमान् विनोद श्रेष्ठ तथा भाइ सुजन भुजेललाई पनि फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरेको छ । ठगीका मुख्य योजनाकार विनोद भएको प्रहरीले जनाएको छ । पीडितहरूले दिएको जोहरीअनुसार युएन टर्कीको लेटरप्याटमा राष्ट्रसंघका महासचिव गुटेरेसले नै हस्ताक्षर गरेको अफरलेटर देखाइएको थियो । सोही पत्रका आधारमा विश्वासमा परेर उनीहरूले पैसा बुझाएका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ०९:२२

लोकप्रिय