सूचनाको शक्ति - The Power Of Information

        

अभिनेत्री श्वेता खड्काले ऋण नर्तिदा माझी बस्ती लिलामीमा !

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छ । रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर ।

एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरू चिटिक्कका छन् । ती घर र त्यो बस्ती जति सुन्दर र चिटिक्क देखिन्छ, त्यसको कथा अहिले उत्तिकै कुरूप खालको छ । २०७२ को भूकम्पले तहसनहस बनाएको त्यो बस्तीकोे मुहार फेरियो । तर, माझी समुदायको दुख फेरिएन ।

कारण हो, ऋण लिँदा बैंकसँग गरेको सम्झौता अनुसार स्वेताश्री फाउन्डेसनले किस्ता नतिर्नु । अभिनेत्री श्वेता खड्काले समाजसेवाको नाममा त्यहाँ सहयोग गर्न गएकी थिइन् । तर माझीहरूको घर भने बैंकबाट ऋण लिएर बनाइयो । तत्कालीन लक्ष्मी बैंक चौतारा शाखाबाट प्रतिघर चार लाख रुपैयाँ थप ऋण लिइएको थियो ।

पुनर्निर्माण प्राधिकरणले दिएको जनही तीन लाख र बैंकको समेत गरी प्रतिघर लागत सात लाख रुपैयाँ पुगेको थियो । बैंकको ऋण समेतले बस्ती निर्माण सम्पन्न भएको थियो । बैंकबाट ऋण लिँदा जग्गा धितो भने माझी बस्ती राखियो । माझीहरूकै जग्गा धितो र उनीहरूलाई सरकारले दिने राहत रकले घर बनाइयो ।

तर अभिनेत्री श्वेता खड्काले बस्ती आफूले बनाएको दाबी गरिरहिन् । तर उनले समाजसेवाको प्रचार गरेर पैसा भने नदिएको माझीहरूको आरोप छ । तर, अहिले बैंकको ऋण नर्तिदा सिन्धुपाल्चोकको सिङ्गो माझी बस्ती लिलामीको जोखिममा पुगेको छ । लामो समयसम्म सावा तथा ब्याज नपाएपछि बैंकले २०८० असोज ४ गते लिलामी प्रक्रियाको सूचना निकालेको थियो ।

बैंकको सूचनापछि स्थानीय ६० परिवारले उच्च अदालतमा लिलामी प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए । फाउन्डेसनले ऋणको किस्ता नतिरेपछि लक्ष्मी सनराइज बैंकले लिलामी सूचना निकालेको हो । घर निर्माणका लागि बैंकसँग लिएको करिब अढाइ करोड रुपैयाँको सावा तथा ब्याज लामो समयसम्म तिरिएको छैन । रकम फाउन्डेसनले तिरिदिने गरी भएको सम्झौता अनुसार ऋण प्रवाह भएको थियो ।

बैंकले जारी गरेको असोज ४ गतेको उक्त लिलामी प्रक्रियाको सूचना उच्च अदालत पाटनले कात्तिक २४ गतेसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो । त्यहाँ रहेका ढुङ्गामाटोको दुई तले घर विसं २०७२ को भूकम्पले भत्कायो । त्यसपछि जस्ताले बारेको कटेरोमा रात बिताउन बाध्य भएका माझी बस्तीलाई पुनर्निर्माण गर्न भन्दै श्वेता गएकी थिइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ०६:५८

लोकप्रिय