२०८३ असार २ , मंगलबार 16, June 2026, Tuesday

जुवा खेलेको आरोपमा कलाकार र गायकसहित ९ जना पक्राउ

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १५ गते बुधबार

जुवा खेलेको आरोपमा प्रहरीले कलाकार तथा गायकसहित ९ जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त सिंहदरबारले गत शनिबार ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूलाई शनिबार नै पक्राउ गरेको भए पनि सार्वजनिक गरिएको थिएन।

काठमाडौं महानगरपालिका-२९ मैतिदेवीमा रहेको नृत्य सिकाउने ठाउँ ‘डान्स फिभर’ बाट प्रहरीले ९ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कलाकारहरू समेत परेका छन्।

पक्राउ पर्नेमा एक जना भोजपुर घर भएका डान्स फिभरका सञ्चालक ४५ वर्षीय गजित भन्ने गणेश विष्ट छन्। उनले ‘मायाज बार’ नामक फिल्ममा काम गरिसकेका छन्।

उनका भाइ नरेन्द्र विष्ट (गम्भीर) पनि पक्राउ परेका छन्। पेसाले कोरियोग्राफर उनले ‘उध्रेको चोली’ गीतको कोरियोग्राफी गरेका थिए। त्यस्तै अन्य थुप्रै म्युजिक भिडिओहरूमा समेत उनले कोरियोग्राफी गरेका छन्।

पक्राउ पर्नेमा गायक चक्र बम र ‘इकु’ पात्रका रूपमा चर्चित कलाकार सुलेमान शंकर पनि छन्।

यस्तै रोशन सिंह, शंकरप्रसाद आचार्य, टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी पक्राउ परेका हुन्।

उनीहरूबाट प्रहरीले एक लाख ९० हजार ९२० रूपैयाँ बरामद गरेको छ। उनीहरूमाथि प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८० कात्तिक १५ गते बुधबार