सूचनाको शक्ति - The Power Of Information

        

बाँकेकाे नरैनापुर गाउँपालिका मलेरियाको उच्च जोखिममा

बाँकेकाे नरैनापुर गाउँपालिका मलेरियाको उच्च जोखिममा रहेको छ । भारतिय सिमानासँग जाेडिएकाे गाउँपालिकाका अधिकांश स्थानीयको भारतमा आउजाउ बढी हुनेभएकोले मलेरियाको उच्च जोखिममा परेको हो ।

गाउँपालिकाका अनुसार भारतमा मलेरिया लागेका व्यक्ति सिधै नरैनापुरमा आउने भएकाले पनि मलेरियाको उच्च जोखिममा नरैनापुरलाई राखिएको छ । गत आर्थिक वर्षमा त्यहाँ १०२ जनामा मलेरिया पुष्टि भएको थियो ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले गत आर्थिक वर्षमा चार हजार ३८४ जनाको मलेरिया जाँच गर्दा १०२ जनामा मलेरिया पुष्टि भएकाले जोखिम बाँकी नै रहेको पुष्टि भएको बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख साहका अनुसार अघिल्लो आव २०७/०७९ मा दुई हजार ६७५ जनाको औलो जाँच गर्दा ८९ र आव २०७७/०७८ मा एक हजार ५५८ जनाको जाँच गर्दा ३५ जनामा मलेरिया पुष्टि भएको थियो । मलेरियाका कारण कसैको मृत्यु नभएको पनि स्वास्थ्य शाखाले जनाएको छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले खुला सिमाना र निर्बाध ओहोरदोहोरका कारण गाउँपालिका मलेरियाको उच्च जोखिममा परेकाले सतर्कता अपनाएर जोखिम घटाउने प्रयास भइरहेको बताउनुभयो ।

उहाँले गत केही वर्ष यता गाउँपालिकामा हरेक वर्ष लगातार मलेरियाका बिरामी भेटिने गरेकाले चेकजाँच बढाउनुका साथै जनचेतना वृद्धि गर्ने कार्य पनि गरिरहेको बताउनुभयो ।

भारतबाट फर्किनेबाट मलेरिया पनि भित्रिने आशङ्का रहेकाले नेपालगन्जको मुख्य जमुनाहा नाकामा पनि निरन्तर मलेरिया जाँच भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सो कार्यालयका अनुसार कोरोना परीक्षणका लागि नाकामा स्थापना गरिएको हेल्थडेस्कले कोरोनासँगै मलेरिया पनि नियमित परीक्षण गर्दैआएको छ । भारतबाट फर्किनेमा फाटफुट मलेरिया देखिनेगरेको जमुनाहा नाकास्थित हेल्थ डेस्कले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलवार १६:०५

लोकप्रिय