सूचनाको शक्ति - The Power Of Information

        

विचार

गणतन्त्र : नाम मात्रै फरक, व्यवस्था र प्रवृत्ति पुरानै

बुढापाकाले भन्थे, बाँदरले आफ्नो घर पनि बनाउँदैन्, अर्काको घर पनि भत्काउँछ । हामी कहाँ ठ्याक्कै त्यस्तै अवस्था छ । नेताहरु आफू त काम गर्दैनन्, अरुलाई पनि गर्न दिँदैनन् ।

समय महत्वपूर्ण छ । समय समातेर समातिँदैन्, रोकेर रोकिँदैन् । जो समयअनुसार चल्न सक्छ, त्यो व्यक्ति माथि जान्छ । समयको ख्याल राख्ने मुलुकको पनि विकास हुन्छ । तर, हाम्रो मुलुकमा ठ्याक्कै त्यसको उल्टो छ । कुनै उच्च पदस्थ कतै सवारी हुँदैछन् भने घण्टौं अगाडिदेखि सवारी साधन आगमन निषेध गरिदिन्छन् । विदेशी पाहुना आउन लागे भनेपनि उही अवस्था छ । ट्राफिक जाम बनाएर सवारी साधन रोकेर राख्ने प्रवृत्ति हामीकहाँ विगतदेखि छ । जुन अहिले पनि जारी नै छ । कुनै सर्वसाधारण अस्पताल हिँडेका हुन्छन् ।

कुनै बिरामी बोकेर घरतिर फर्किएका हुन्छन् । कोही कामका लागि घरबाट निस्किएका हुन्छन् त कुनै आफ्नो ड्युटीमा पुग्न दौडधुप गरिरहेका हुन्छन् । तर, यो कुरा सरकारले देख्दैन् । कुनै उच्च पदाधिकारी सवारी हुनेबित्तिकै सर्वसाधारणलाई ट्राफिक जामको त्रासले सताउँछ । उसै त जाम हुने सडक, त्यहीमाथि सवारी । सरकारलाई घण्टौं सवारी साधन रोक्दा पनि कुनै फरक पर्दैन । अहिले पनि राजाकै पालाको सिस्टम छ । विसं २०६५ सालअघि राजा सवारी हुनुभन्दा दुई घण्टा अगाडि सवारी साधनको आवतजावत् रोकिन्थ्यो । हिँड्न पनि रोक लगाइन्थ्यो ।

बाटो पूरै खाली गराएर राजा सवारी हुन्थें । राजा हटाएर जनताको छोराछोरी राष्ट्रप्रमुख भए । उच्च पदमा पुगें । तर, सिस्टम परिवर्तन हुन सकेन । भूपू राष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारी त गणतन्त्रको राजा नै भइहालें । उनीहरु सवारी हुनुभन्दा दुई घण्टाअघि नै पूरा बाटो खाली गराइन्थ्यो । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल अलिक फरक देखिएका छन् । उनी सवारी हुँदा एकतर्फीको बाटो खाली गराइन्छ । तर, साइरन बजाउने र सुरक्षाकर्मी दौडाउने क्रम जारी नै छ । अहिले पनि राष्ट्रपति सवारी हुँदा सयौं सुरक्षाकर्मी परिचालन गरिन्छ ।

बाटोभरि सुरक्षाकर्मी उभाइएको हुन्छ । सुरक्षाकर्मी किन उभ्याउनु पर्यो ? देखाउनका लागि ? उता, छिमेकीले सीमा मिचेको मिच्यै छन्, सुरक्षाकर्मी जति सबै उच्च पदस्थ भनाउँदाहरुको पछाडि खटिएका छन् । अनि सीमाको सुरक्षा कसले गर्ने ? देश ठूलो कि यिनीहरुको नौटंकी ? सुरक्षाकर्मीलाई अगाडि पछाडि दौडाउनुको साटो सीमामा पठाए त छिमेकीले ज्यादती गर्न सक्दैन् थिए कि ? अन्यको पारा पनि त्यस्तै छ । प्रधानमन्त्रीदेखि लिएर विपक्षी दलका नेताको गाडीसमेत त्यसरी नै दौडिएको हुन्छ ।

यिनीहरुको गाडी हुँइकेको देख्दा सर्वसाधारणको सातो जान्छ । यताउता हेर्दैनन्, हुँइकाउँछन् । उनीहरुको गाडीले सर्वसाधारणलाई ठक्कर दियो भने कसले जिम्मा लिन्छ ? कहाँकहाँ न पुग्न लागेझैं नेताहरुको गाडी हुँइकेको हुन्छ । आफूहरु व्यस्त छौं भनेर देखाउनका लागि त्यसरी गाडी गुडाएका होलान् । तर, जनताले तिनका काम त देखिसकेका छन् । गाडी दौडाए अनुसारको रफ्तारमा काम गरेको भए आज देश कहाँ पुगिसक्थ्यों ? जति नै हतारो भएको देखाए पनि आखिर चिया खाने र एकअर्काको खुट्टा तान्नेबाहेक केही गरेका होइनन् ।

मुलुकको व्यवस्था परिवर्तन भयो । विडम्बना, राजाले ल्याएको व्यवस्थामा परिवर्तन हुन सकेन । अहिलेका नेताहरुले आफूलाई गणतन्त्रको राजा ठानेका छन् । जनताको सेवक हुनुपर्नेहरु शासक बनेका छन् । नेताहरु जनताका लागि काम गर्छौं भनेर भाषण ठोक्छन् । तर, अहिलेसम्म के गरे ? जनताको हिजो जहाँ थिए, आज पनि त्यही छन् । जीविकोपार्जन गर्नै समस्या छन् । जनता खान नपाएर आत्महत्या गर्नुपर्ने अवस्था छ । विदेश पलायन हुने नेपालीको संख्या दिनप्रतिदिन बढेको बढ्यै छ । विकासको मूल फुटाउँछौं भन्छन् तर कतै विकासको थोपो देखिँदैन ।

सभामुख देवराज घिमिरे साइरन बजाएर दौडिँदै संसद् भवन पुग्छन् । उनको गाडी हुँइकेको देख्दा कानुन बनाउन साह्रै हतारो भएझैं लाग्न सक्छ । तर, अहिलेसम्म उनले कतिवटा विधेयक पारित गराउन सके त ? वर्षौं बित्न लागिसक्यो, बल्लतल्ल मीटरब्याजको विधेयक पारित भएर कानुन बन्यो । करोडौं तलबभत्ता खाइसकें तर प्रगतिचाँहि केही छैन् । भूपू प्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपालको सवारी हुँइकेको देख्दा वालुवाटारमा ठूलै निर्णय हुन लागेकोझैं महसुश हुन्छ । तर, के–के निर्णय गर्नु ?

बालुवाटार जाने, गफ ठोक्ने अनि चिया खाने । अनि भन्छन्, ‘हामी मिटिङ्ग बसेको ।’ यस्ताका त मिटिङ्ग । कुन विषयमा मिटिङ्ग बसिन्छ त थाहा छैन् । यिनीहरुको सवारीका कारणले सर्वसाधारणले कति सास्ती पाउँछन् ? कतिपयको ज्यानमाथि नै जोखिम पर्न सक्छ । एक मीनेट मात्र ढिलो भयो भने बिरामीको ज्यान जान सक्छ । सरकारका कर्मचारीलाई फरक नपर्ला तर निजी कार्यालयमा काम गर्नेहरुलाई समयले निकै प्रभाव पार्छ । समयमा कार्यालय पुगेन् भने जागिर जान सक्छ । तलब काटिन्छ । यो त सरासर गर्ने कोही र भर्ने कोहीको अवस्था भयो ।

नेताका कारणले जनतामा परेको क्षतिको भर्पाइ कसले गर्ने ? बुढापाकाले भन्छन्, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन्, अर्काको घर पनि भत्काउँछ ।’ हामी कहाँ ठ्याक्कै त्यस्तै अवस्था छ । नेताहरु आफू त काम गर्दैनन्, अरुलाई पनि गर्न दिँदैनन् । हावा बोलेको भरमा उनीहरुले पो खान पाउँछन्, जनताले त पाउँदैनन् । सबैभन्दा धेरै वर्षा जेठ, असार र साउनमा हुन्छ । यो खेतीको सिजन हो । यतिबेला खेती गरेन् भने वर्षको नौ महिना खान पाइँदैन् । तीन महिनाचाँहि रातदिन नभनिकन काम गरिन्थ्यो ।

तीन महिनाको दुःखले नौ महिना बसीबसी खान पुग्थ्यो । बुढापाकाले अहिले पनि भन्छन्, ‘वर्खाको बेलामा मान्छे नै मरे पनि छोपेर खेतीमा गइन्थ्यो । नभए त भोकले अरु सदस्य पनि मर्नुपथ्र्यों ।’ नेपाललाई कृषिप्रधान देश भनिन्छ । अब कृषि प्रधान होइन आयात प्रधान देश नामाकरण गरे हुन्छ । असारको समयमा जनतालाई भेला गराएर भाषण ठोक्छन् । देशलाई कृषिमुलक बनाउने, विकास गर्ने लगायतका खोक्रो भाषण गर्छन् । यिनीहरु जुन कार्यक्रममा पुग्छन्, त्यहीबाट लखेट्नुपर्ने । किसानले मल पाइरहेका छैनन् । देशलाई कृषिमूलक बनाउँछु भन्दै हिँड्न यिनीहरुलाई किन लाज लाग्दैन ?

लाज पचेकाहरुको विरोध गर्न अब जनताले सिक्नुपर्छ । कहिलेसम्म यस्ताको खोक्रो भाषण सुनिरहने ? बसमा सहचालक हुने क्षमता नभएकालाई देश चलाउने जिम्मा दिएर विकास हुन्छ ? चप्पल लगाउन नसक्नेहरु आज खर्बौंको मालिक बनेर बसेका छन् । सात पुस्तालाई पुग्ने सम्पत्ति जोडेका छन् । नेता कस्ता हुन्छ ? यी दलालहरुलाई थाहा छ ? यिनीहरुको कारण सच्चा नेताहरु बद्नाम बनेका छन् । विश्वका धेरै मुलुक यस्ता छन् कि जो पूरै मरुभूमिले घेरिएको छ । तर, त्यहाँका नेताहरुले मरुभूमिलाई हराभरा बनाए । नेताहरुले मरुभूमिमा उब्जनी गरे ।

आफ्ना देशका नागरिकलाई आफैंले उब्जाएकोले खान पुर्याएका छन् । विकास गरे । गर्न चाह्यो भने सबै सम्भव छन् भन्ने उदाहरण विश्वका अधिकांश मुलुकले दिएको छ । नेपाल त प्राकृतिक सौन्दर्यताले भरिपूर्ण देश । उर्वर भूमियुक्त देश । जलस्रोतको दोस्रो धनी देश । विडम्बना, यहाँ नै सबैभन्दा धेरै खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ । हरेक वस्तुमा नेपाल परनिर्भर छ । नेताहरुले भएका उद्योग, कलकारखाना पनि बन्द गराइदिए । मुलुकलाई गरिब देखाएर विदेशीबाट डलर ल्याउँदै खाने काम नेताहरुले गरे । अझै पनि सर्वसाधारण यिनीहरुको झोले बन्ने कि ? देश त सकाइहाले ।

आज नेपालीलाई नेपाली भन्न लाज लाग्छ । यो अवस्थामा पुर्याउने त नेता भनाउँदा दलालीहरुले हो । जलविद्युत मात्र निकाल्न सकेको भए आज नेपाल कहाँ पुगिसक्थ्यो । नेपालीलाई पहिल्यैदेखि किसान भनेर चिनिँदै आएको छ । नेताहरुले यो पनि देख्न सकेनन् । धमाधम जग्गा प्लानिङ्ग गर्न दिइयो । नेताहरुले दुईटा काम गरे । पहिलो जनतालाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याइदिए । दोस्रो देश बेचेर आफूहरुले मोजमस्ती गरे । नेपालीको आँखा अहिले नखुले कहिले खुल्ने ? नेताहरुले अल्मलाइरहेका छन्, जनता तिनकै पछाडि लागिरहेका छन् । जनतामा चेतना नआएसम्म नेताहरुले घुमाइरहन्छन् । देशको विकास त कल्पनाबाहिरको कुरा हो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार १६:५५

लोकप्रिय