दसैँ सकिएलगत्तै बाँकेका अधिकांश किसान धान काट्ने काममा व्यस्त भएका छन् । कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार अहिले जिल्लाका विभिन्न स्थानका अधिकांश किसान बिहानदेखि बेलुकासम्म धान काट्न जुटेका छन् ।
कतिपय किसानले दसैँअघि नै काट्ने बेला भएको धान समेत नकाटी दसैँ पर्वमा रमाएका थिए, अहिले उनीहरूलाई काट्न भ्याइनभ्याई छ । कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकील अहमद खाँले दसैँमा रमाएका किसानहरू अहिले धान काट्न खेतबारीमा जुटेको जनाउँदै अहिले धान काट्ने उचित समय भएको बताउनुभयो ।
उहाँले धेरै किसानलाई अहिले कतै पानी परेर वर्ष दिनभरि खाने बाली बिगार्ने डरले चिन्ता लागे पनि मौसमविद्हरूले अबका केही दिन पानी पर्ने सम्भावना नरहेको जनाएकाले ढुक्कसँग धान काट्न किसानलाई सुझाव दिइएको बताउनुभयो ।
प्रमुख खाँले भन्नुभयो, ‘मौसमविद्का अनुसार अबका केही दिन पानी पर्ने सम्भावना छैन, त्यसैले अहिले किसानले ढुक्कले धान काटेर थन्क्याउँदा हुन्छ भन्ने सुझाव दिएका छौँ ।’
कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार यस पटक केही ढिला सुरु भए पनि समयमै रोपाइँ सम्पन्न भएको र बिचमा हानी गर्ने पानी नपरेकाले बाँके र बर्दिया दुवै जिल्लामा उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।
कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख खाँले गत वर्ष र त्यसको अघिल्लो वर्ष पनि धान तयार हुनै लागेका बेला वर्षा भएर ठुलो क्षति भए पनि यस पटक यस्तो नभएकाले उत्पादन राम्रो हुने आशामा किसान बसेको बताउनुभयो ।
राप्तीपारी नरैनापुरका किसान अरुण यादवले गत वर्ष सुख्खा परेकोमा यस पटक समयमै वर्षा भएकाले धान उत्पादन राम्रो भएको जनाउँदै अहिले काट्न भ्याइनभ्याई रहेको बताउनुभयो ।
उहाँले धान उत्पादन राम्रो हुने देखिएपछि नरैनापुरका किसान खुसी देखिएको पनि बताउनुभयो । उता, सबैभन्दा पहिले रोपाइ गरेका खजुरा, कोहलपुर, बैजनाथ र डुडुवाका केही किसानले धान काटिसकेका छन् भने अधिकांश अहिले काट्न व्यस्त छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके