सूचनाको शक्ति - The Power Of Information

        

पोखराको शान्ति स्तूपमा नगर बस दुर्घटना, ३ जनाको अवस्था गम्भीर (अपडेट)

पोखराको पुम्दीभुम्दीस्थित शान्ति स्तूपबाट माइक्रो बस खसेको छ ।

ग १ ख ८५८५ नम्बरको नगर बस केही समयअघि दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकाहरूको उद्धार भैसकेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार घाइतेहरूमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम छ ।

‘गम्भीर घाइते हुनुहुन्न भन्ने छ । तैपनि बुझ्दैछौं,’ उनले भने, ‘सबैलाई गाडीबाट निकालिएको छ । हतारमा उद्धार गरिएकोले केही गम्भीर हुनुहुन्छ भनिएको छ । अस्पताल पुगेपछि थाहा हुन्छ ।’

गाडी भीरबाट खसेर उत्तानो परेको थियो । घाइतेहरूमध्ये ७ जनालाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ । कम्तीमा १२ जना यात्रु घाइते छन् । प्रत्यक्षदर्शीका अनुसार ३ जना घाइतेको अवस्था गम्भीर छ ।

‘ट्याक्सी, निजी कार जेमा भेट्यो त्यसैमा पठाएका छौँ,’ उद्धारमा खटिएका स्थानीय युवक लामिछाने भन्छन्, ‘धेरैलाई हात र खुट्टामा चोट छ । तीन जनालाई अलि अवस्था गम्भीर थियो ।’

उनका अनुसार गाडीमा ३० जना भन्दा बढी सवार थिए । उनीहरूलाई पोखराका विभिन्न अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतवार १४:२७