मान्छेका जीविकोपार्जन गर्ने अनेक तरिका हुन्छन् । कोही पढे–लेखेर सरकारी जागिर खान्छन् । कोही व्यवसाय गर्छन् त कोही आफ्नो परिवारले गर्दै आएको कुनै विधामा संलग्न हुन्छन् त कोही वैदेशिक रोजगारीका लागि विदेश पलायन हुन्छन् । अर्थात् जीविकोपार्जनका लागि केही न केही काम गरेकै हुन्छन् । त्यस्तै एक साधारण जीविकोपार्जन गरिरहेकी छन् गीता केसीले ।
काठमाडौँ भद्रकाली मन्दिरनजिकै सडकको पेटीमा बसेर प्लाटिकको थैलोबाट हातले केही झिक्दै मुखमा हाल्दै, पानी पिउँदै गरेकी महिला देखिन्छिन् । मैले अलिक पर बसेर त्यो दृश्य हेरिरहेँ । त्यो क्रियाकलाप पटक–पटक दोहोरियो । अलिक नियाल्दै गर्दा आखिर के रहेछ त वास्तविकता भन्ने खुल्दुली लाग्यो र नजिक गएँ । मलाई देखेपछि खाइरहेको सामानको पोका गुटमुटाएर बोराभित्र हालिन् ।
‘के खाँदै हुनुहुन्थ्यो ?’ मैले सोधेँ ।
‘केही होइन, खाजा खाँदै थिएँ’ भनिन् ।
त्यसपछि बल्ल संवादको गाँठो फुक्यो ।
चितवन रामपुरमा जन्मिनुभएकी गीता विगत ३–४ महिना अघिदेखि काठमाडौँका केही ठाँउमा अरुले मिनरल वाटर खाएर फालेका खाली बोतल संकलन गर्दै आएकी छन् । १० वर्षअघि उनी काठमाडौँमा बबरमहलस्थित एक अफिसमा भाँडा माझ्ने, सरसफाइ गर्ने काम गर्थिन् ।
‘त्यो अफिसमा मैँले ५–७ वर्ष मासिक ६ हजारमा काम गरेँ । बिहान खाना दिन्थ्यो । तलब बढाइदिन्छु भनेका थिए हाकिमले । तर लकडाउने गर्दा सबै चौपट भयो,’ उनी भन्छिन्, ‘पछि लकडाउन भएको एक दुई दिन नबित्दै त्यो अफिस कता सरेछ कुनै अत्तोपत्तो भएन ।’
लकडाउनका कारण भएको पैसा पनि सकिएपछि गीता भौँतारिन थाल्नुभयो । त्यसपछि पुनः कामको खोजीमा हिँड्नुभयो । काम त्यति सजिलै मिल्नेवाला थिएन । हप्ता दिनसम्मको निरन्तर प्रयासपछि एउटा काम हात लाग्यो ।
‘काम त पाइयो तर महिनाको जम्मा ३ हजार मात्र दिन्थ्यो,’ उनी भन्छिन्, ‘काम फेरि दिनको दुई घण्टा मात्रै । म्यानपावरको अफिसमा कुचो लगाउने र हाकिलाई दिउँसो एकपटक चिया बनाएर दिनुपर्ने थियो ।’
त्यहाँ पनि त्यति राम्रो काम नभएको र पैसा पनि कम दिने भएकाले एक वर्ष काम गरेर छोडिन् । त्यसपछि सुरु भयो उनको खाली बोतल बटुलेर जीविकोपार्जन गर्ने यात्रा । अहिले गीता कहिले भृकुटीमण्डप, सहिद गेट, माइतीघर मण्डला, भद्रकाली मन्दिर गर्दै यात्रीहरुले पानी खाएर फालेका खाली बोतल बोरामा उठाउँछिन् ।
‘दैनिक चार सयदेखि ५०० वटा बोतल जम्मा गर्छु । प्रतिगोटा एक रुपैँया दिन्छ,’ उनी आफ्नो कमाइबारे सुनाउँछिन् । यसो गर्दा महिनामा करिब १५ हजार कमाइ हुन्छ उनको । यसबाट सन्तुष्ट पनि छिन् । सुरु–सुरुमा अलिक लाज लाग्थ्यो । तर अहिले बानी परिसक्यो । अहिले त उक्त क्षेत्रका अधिकांश पसलेले उनलाई चिनिसकेका छन् ।
उनीहरूले पनि गीताको राम्रो बोलीवचन र स्वभावका कारण खाली बोतल जम्मा गरेर बोरामा राखिदिन्छन् । यसरी खाली बोतल संलग्न गरेर आफ्नो जीविकोपार्जन गरिरहेको गीताको भनाइ छ । गीताले दैनिकजसो खाने खाजा भनेको फुक्का चिउरा र पानी हो ।
‘यत्तिको कमाउनुहुँदो रहेछ, किन निस्तो चिउरा खानुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘जम्माजम्मी कमाएको पैसाले कोठा भाडा तिर्न र खाना खान बल्लबल्ल पुग्छ । छोरीको स्कुल फिस तिर्नुपर्छ । त्यसैले धेरै खर्च गर्न हुन्न ।’
संवाद बढ्दै जाँदा अर्को प्रश्न गरँे, ‘दिदी ! परिवारमा को–को हुनुहुन्छ नि ?’ अलि हच्किइन् गीता । अनि मलिन हुँदै भनिन्, ‘बुडा गाउँमा, छोरी र म यहाँ ।’ यति भनेर गीता एकछिन रोकिइन् । अनायासै आँखाबाट आँसु बग्न थाले । २०७२ सालको भूकम्पमा परी छोराको मृत्यु भएको रहेछ ।
‘शनिवारको दिन थियो । घुमफिर गरैँ भन्ने लागेर छोरा म बालाजु गएका थियौँ । बालाजुमा दिदीको घरमा गएर खाना खाएर छोरा माथि कोठामा आराम गर्ने गर्न गएको थियो । हामी दिदीबहिनी लुगा धुन लाग्यौँ । एक्कासि जमिन हल्लाएझँै भयो । घर्याक्क गरेको आवाज सुनियो । पछाडि फर्किएर हेर्दा घरले पुरिएछ,’ यति बताइरहँदा गीताका आँखामा आँसु बगिरह्यो ।
आफ्ना सन्तानको माया कसलाई नलाग्ला ? त्यही मायाले भूकम्प अलि साम्य भएपछि डोजर बोलाउनुभयो गीताले । कच्ची घर पन्छाइसक्दा छोराको स्वास गइसकेको रहेछ । ‘घर ढल्नासाथ म पनि बेहोस भएछु,’ सुँक्कसुँक्क गर्दै सुनाइन्, ‘पछि घर पन्छाइसकेर छोरा निकाल्दा छोराको सास थिएन । यो थाहा पाएर ममाथि आकास खसेझैँ भयो ।’
अहिले पनि मातृत्व कम भएको छैन गीताको । दिवंगत छोराको निकै याद आँउछ । त्यहीकारण बालाजु जान पनि मन लाग्दैन उहाँलाई । बालाजु सम्झ्यो कि झसंग हुन्छ । होश उडेझैँ हुन्छ । ‘दुःखै गरेर भए पनि छोरालाई डाक्टर बनाउने सपना देखेकी थिएँ,’ आफ्नो सपना भूकम्पमा पुरिएपछि गीता भावुक हुँदै सुनाइन्, ‘अब जुन भन्ने छोरै रहेन । सपना देखेर के काम ?’
यद्यपि गीताले हिम्मत हारेकी छैनन् । संघर्षमा जारी छ । छोराको सपना अब छोरीमाथि देखेकी छन् । ‘मैले छोरालाई डाक्टर बनाउन सकिनँ । तर छोरीलाई डाक्टर बनाउन सक्दो कोसिस गर्नेछु ।’ बोतल जम्मा गर्ने कामले कसैको जीवन चलिरहेको र त्यबाट पनि आफ्नी छोरीलाई डाक्टर बनाउने सपना देखेकी छिन् ।
गीता भन्छिन्, ‘यो काम हेर्दा एउटा बोतल उठाउने मात्र देखिन्छ होला । तर यसबाट वातावरण पनि सफा गरिरहेका छौँ भन्ने मानिसमा चेतना पलाउँदैन । त्यही भएर अपशब्द प्रयोग गरेर अरूलाई नीच देखाउन खोज्छन् । काम जेजस्तो भए पनि त्यसको सम्मान गर्न सिक्नुपर्छ ।’ गीताले हाल एउटा बोतल बेचेको एक रुपैँया कमाउँदै आएकी छन् । दसैँअघि पसलेले प्रतिवटा बोतलको डेढदेखि दुर्ई रुपैँया गरिदिने भनेपछि उनमा थप ऊर्जा र खुसी थपिएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
रूपेश आचार्य । काठमाडौं