सूचनाको शक्ति - The Power Of Information

        

संसद भवनअगाडिबाट २७ जना पक्राउ

संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा विचाराधिन संसोधन विधेयक मानव अधिकारमैत्री बनाउन मागसहित मानव अधिकार तथा शान्ति समाजले आइतबार संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको छ ।

संसद भवन ३ नम्बर गेट अगाडि भएको प्रदर्शनमा  प्रदर्शनकारीहरुले ‘नेपाल सरकारः हिंसालाई महिमामण्डन गर्ने काम बन्द गर, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय खारेज गर’ लगायतको नाराअंकित प्लेकार्ड बोकेका थिए ।

सो क्रममा २७ जना प्रदर्शनकारी पक्राउ परेको समाजले जनाएको छ । पक्राउ पर्नेमा संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनी, काठमाडौँ शाखा सभापति भगवान पुडासैनी, चितवन शाखा सभापति शम्भु राउतलगायत छन् ।

उनीहरुलाई   बानेश्वर प्रहरी वृत्त तिनकुनेमा राखिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतवार १४:२२