सूचनाको शक्ति - The Power Of Information

        

आफ्नै साथीको हत्या गरेको आरोपमा दुई युवक पक्राउ

मोबाइलका लागि आफ्नै साथीको हत्या गरेको आरोपमा जनकपुरधामका दुई युवक पक्राउ परेका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका– २४ सोनापारा बस्ने २० वर्षीय हरिचरण मण्डल र अन्दाजी २१ वर्षीय पवन सहनीलाई आफ्नै साथी स्थानीय रुपेश महराको हत्या आरोपमा धनुषा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले आइतवार बिहान सार्वजनिक गरेको छ । रुपेशको मोबाइल हरिचरणलाई मन परेपछि नदिंँदा हरिचरणले रुपेशको हत्या गरेको अनुसन्धानमा खुलेको जिप्रका धनुषाका एसपी विश्वराज खड्काले बताउनुभयो ।

लागू औषध सेवनले मातिएका तीनै जना साथीबीच मोबाइलको विषयमा विवाद हुँदा हरिचरणले रुपेशलाई बाँसको भाटा प्रहार गरी हत्या गरेको र शव धान खेतमा फाल्न पवनले सहयोग गरेको एसपी खड्काले बताउनुभयो ।

जनकपुरधाम– २३ विसविट्टी स्थित धान खेतमा कात्तिक ९ गते शव फेला परेका रुपेशको कात्तिक ८ गते राति हत्या भएको थियो ।

प्रहरीले घटनास्थलबाट मृतकले प्रयोग गरेको एक थान साइकल, मृतकको मोबाइल सेट, आरोपित हरिचरणले घटनाको बेला प्रयोग गरेको रगत लागेको एक थान सर्ट, घटनामा प्रयोग भएका बाँसको भाटा र घटनाको क्रममा प्रयोग भएका पवन सहनीको मोबाइल बरामद गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतवार १३:५८

लोकप्रिय