२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

‘माननीय ज्यू बाटो कहिले बन्छ ?’ भन्दै सुर्खेतमा ठेकेदार सांसदको खोजी

सत्यपाटी
सत्यपाटी । बाँके । २०८० कात्तिक १२ गते आइतबार

मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको पश्चिम खण्डको साढे १२ किलोमिटर सडक कालोपत्रेको ठेक्का लिएका ठेकेदार सांसदको ठाउँठाउँमा पोस्टर टाँसेर खोजी सुरु भएको छ ।

पश्चिम सुर्खेतमा तस्वीरसहितको पोस्टरमा ‘माननीय सांसद दिक्पाल शाही ज्यू बाटो कहिले बन्छ ?’ भनेर प्रश्न गर्दै खोजी सुरु गरिएको हो । सांसद शाही दैलेख जिल्लाबाट संघीय संसदमा प्रत्यक्षतर्फ नेपाली काँग्रेसबाट उम्मेदवार बनेर विजयी बनेका हुन् ।

मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको पश्चिम खण्डको साढे १२ किलोमिटर सडक कालोपत्रे गर्ने भनेर उनको कम्पनीले ठेक्का लिएको भए पनि हालसम्म कालोपत्रे नगरेको भन्दै रुखमा उनको तस्वीरसहितको पोस्टर टाँसिएको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर–गुटु–बेनिघाट सडक खण्डअन्तर्गतको साढे १२ किलोमिटर सडक कालोपत्रका लागि एक वर्षभित्रै काम सम्पन्न गर्ने गरी अनक जयदेवी जेभी बाँकेले ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा कर्णाली सरकारको भौतिक पूर्वाधार विकास निर्देशनालयसँग सम्झौता गरेको थियो ।

प्रकाशित मिति : २०८० कात्तिक १२ गते आइतबार