सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै

कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले आज दिउँसो शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने कार्यक्रम दिउँसो २ देखि ५ बजेसम्म हुने पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिनुभयो । कांग्रेसले बडादशैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको हो ।

बीपी कोइरालाले तत्कालीन अवस्थामा राजनीतिक सम्वाद र भेटघाटको आवश्यकता महसुस गरी थालनी गर्नुभएको चियापान कार्यक्रमले अहिले पनि देशमा राजनीतिक सौहार्दता र एकता कायम गर्न योगदान पुर्याउने नेता खतिवडाले बताउनुभयो ।

काठमाण्डाै, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छ भने अरु जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्नेछन् ।

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रीगण, सांसद, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।

बीपी कोइरालाले २०३३ सालको पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ सालदेखि चियापान शुरु गरेको हो । कांग्रेसले बडादशैँकाे अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

कांग्रेसले यसवर्ष झण्डै १० हजार जनालाई निमन्त्रणा कार्ड बाँडेकाे छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार ०८:३९

लोकप्रिय