कोजाग्रत पूर्णिमाको रात लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालबाट देख्न सकिनेछ । खण्डग्रास ग्रहणको सुरुवात शनिबार राति १ बजेर २० मिनेटबाट हुनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा पुग्नेछ । त्यसपछि घट्दै गएर राति २ बजेर ३८ मिनेटमा सकिनेछ । यो खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भूभागबाट देखिने बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी तथा विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले भने, ‘नेपालका साथसाथै युरोप, अफ्रिका र एसियाको पूरै भूभागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाको केही स्थानबाट देखिनेछ ।’ खण्डग्रास चन्द्रग्रहणको कुल अवधि १ घण्टा १८ मिनेटको हुनेछ । ‘कोजाग्रत पूर्णिमाका दिन लाग्ने पृथ्वीको सघन छायाले अधिकतम समयमा चन्द्रमाको ६ प्रतिशत मात्रै ढाक्नेछ,’ नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने, ‘राति २ बजे आसपास चन्द्रमा हेर्दामात्रै ग्रहण भएको जस्तो लाग्नेछ । थोरै भाग मात्रै ढाक्नेछ ।’
चन्द्रग्रहण छोटो समय देखिने भए पनि त्यस रातको आकाश अवलोकनका लागि मौसम भने अनुकूल रहनेछ । जल तथा मौसम विज्ञान विभागले शनिबार रातिको केही पहाडी क्षेत्रमा बदली भए पनि देशको अधिकांश भूभागको आकाश सफा रहने जनाएको छ । ‘सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ,’ जल तथा मौसम विज्ञान विभागले तीनदिने पूर्वानुमानमा भनिएको छ ।
गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमास अनुसार कार्तिक कृष्ण औँसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो । पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ । यस क्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पर्न जान्छ, तब पृथ्वीको छाया चन्द्रमामा पर्दछ । चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छायाले चन्द्रमा छेकिन्छ, जसलाई चन्द्रग्रहण भनिन्छ ।
सूर्य, पृथ्वी र चन्द्रमा पूर्णिमा वा औँसीको समयमा एउटै सरल रेखामा पर्न सक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण सम्भव हुँदैन किनभने चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब ५ डिग्रीको कोण बनाएको हुन्छ । चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई बिन्दुमा काटेको हुन्छ । यी दुई बिन्दुलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु नाम दिइएको छ ।
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्यकर्म गर्न हुन्छ । ग्रहणका समयमा दीक्षामन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख छ । ग्रहणका बेला गर्न हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ,
निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।
अर्थात्, ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, शृंगारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ । सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा)अघिदेखि सूतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाए । सूतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । ग्रहणका समयमा नित्यकर्म गर्न हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहणमा निषेध गरिएका बाहेक कर्म गर्न हुने जनाइएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं