सूचनाको शक्ति - The Power Of Information

        

डिएसपीमाथि चक्कुको झटारो, हातको कुहिनामा चोट

इलाका प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रमुख सुन्दर तिवारी चक्कु लागेर घाइते भएका छन् ।

कोहलपुर–२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई बन्धक बनाएर मार्ने धम्की दिने क्रममा उद्धारका लागि खटिएका प्रनाउ तिवारीमाथि थापाले चक्कुको झटारो हानेका थिए ।

चक्कु लागेपछि प्रनाउ तिवारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण डाँगीले जानकारी दिए । प्रहरी प्रवक्ता डाँगीका अनुसार थापाले छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएका थिए ।

सो सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा प्रनाउ तिवारीलाई लागेको थियो । चक्कुको झटारोबाट प्रनाउ तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको प्रहरी प्रवक्ता डाँगीले बताए ।

प्रनाउ तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि तिवारीमाथि नै चक्कु प्रहार गरेका थिए । त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो ।

बिहीबार करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक सन्तुलन ठीक नभएको बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार ०७:५८

लोकप्रिय