तेस्रो सन्तान कोखमा रहेको थाहा पाएदेखि नै रीता रोका स्वास्थ्य चौकी पुगिरहन्थिन् । उनलाई नियमित गर्भको जाँच गर्न स्वास्थ्यकर्मीले सुझाएका थिए । गाउँमा हुने आमा समूहको बैठक होस् वा गर्भावस्था र सुत्केरी अवस्थामा हुने जोखिमका विषयमा छलफलका लागि उनको सक्रियता अरु महिलाको भन्दा धेरै हुन्थ्यो ।
स्वास्थ्यकर्मीको सल्लाह अनुसार सात पटक गर्भजाँच गराएकी रीताले अन्तिम अवस्थामा भने समयमा स्वास्थ्य चौकी पुग्न नसकेकै कारण मृत्युवरण गर्नुपर्यो । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँको छापाखानीकी ३२ वर्षीया उनको सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएकै कारण मृत्यु भएको हो, त्यो पनि नेपालीको महान् चाड दसैँकै बेलामा ।
गर्भजाँचका लागि स्वास्थ्य चौकी जानुपर्छ भन्ने थाहा पाएकी रीतालाई सुत्केरी गराउन भने स्वास्थ्य चौकी पुर्याइएन । कात्तिक ७ गते राति ९ बजे गोठमा सुत्केरी भएकी उनको भोलिपल्ट बिहान ४ बजे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदा मृत्यु भइसकेको थियो । निसीखोलाका केही गाउँमा अझै पनि गोठमै सुत्केरी हुनुपर्ने प्रचलन छ । गोठमा रीता सुत्केरी भएपछि छिमेकीले थाहा पाए ।
छोरी जन्माएकी रीताको भन्दा छोरीको ख्याल छिमेकीले धेरै गरे । समयमै साल नझरेकै कारण उनको अत्यधिक रक्तश्राव हुँदा मृत्यु भएको बोहोरा गाउँ स्वास्थ्य चौकीका प्रमुख कसिन्द्र शाहीले बताए । उनका अनुसार ९ बजे सुत्केरी भएकी रीताको साल नझरेपछि छिमेकीले राति १ बजे स्वास्थ्य स्वयंसेविकालाई खबर गरेका रहेछन् । रातको समयमा एक घण्टा टाढाबाट स्वयंसेविका पुग्दा रगत धेरै बगिसकेको थियो ।
दुई बजे पुगेकी स्वयंसेविकाले १५ मिनेट दूरीमा रहेको स्वास्थ्य संस्था तत्काल पुर्याउन सल्लाह दिए । बोहोरा गाउँ स्वास्थ्य चौकीमा पहिलै खबर गरेकाले सबै स्वास्थ्यकर्मी सामग्रीसहित तैनाथ थिए तर समय घर्किसकेकाले स्वास्थ्य संस्थाले केही गर्न सकेन र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइयो । ‘म आफैँले लिएर बुर्तिबाङ पुगेँ तर केही लागेन्,’ स्वास्थ्य चौकीका प्रमुख शाहीले भने, ‘स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको भए ज्यान बचाउन सकिने केश हो, तर ढिला भएकाले विज्ञानको पनि केही लागेन ।’
बिहान ४ बजे उहाँलाई प्राथमिक स्वास्थ्य केन्द्रले मृत घोषणा गरेको थियो । यसअघि दुई छोरा जन्माएकी रीताले छोरीलाई जन्म दिएकी थिइन् । छोरीको स्वास्थ्य भने सामान्य रहेको उनले बताए । ‘पहिला जाँच गर्न आउँदा रगतमा समस्या देखिएको थियो, हामीले पोखरा वा बुटवल गएर उपचार गर्न सल्लाह दिएका थियौँ । उहाँले साथीभाइसँग सल्लाह पनि गर्नुभएको रहेछ, तर आर्थिक अभावका कारण जानुभएनछ,’ प्रमुख शाहीले भने ।
उनका अनुसार आर्थिक अवस्था र सामान्य हेलचेक्य्राइँका कारण सुत्केरीको ज्यान गयो । सुत्केरी भइसकेपछि पनि समयमै स्वास्थ्य संस्था आएको भए ज्यान बचाउन सकिने अवस्था थियो । रीताका पाँच वर्षीय छोराको एक महिनाअघि मात्रै भिरबाट लडेर मृत्यु भएको थियो । पुत्रशोक, परिवारको कमजोर आर्थिक अवस्था लगायत कारणले समयमा अस्पताल पुग्न नपाएकी रीताले छोरीलाई जन्म दिएपछि मृत्युवरण गर्नुपर्यो ।
रीताका श्रीमान् ज्याला मजदुरी गरेर जीवनयापन गर्छन् । पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा अभियान सञ्चालन गरिरहेको बागलुङमा अझै पनि घरगोठमा सुत्केरी हुँदा महिलाले ज्यान गुमाइरहेका छन् । ‘पहिलो कुरा त स्वास्थ्य संस्थामा सुत्केरी हुँदा धेरै जोखिम कम हुन्छन्, अर्को कुरा सरकारले फ्रि हेलिकप्टरको व्यवस्था गरेको थियो, यी सबै कुराको बेवास्ता गर्दा सुत्केरीको ज्यान गइरहेको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले भने ।
प्रमुख शर्माले थप अगाडी भने, ‘अहिले नहुनपर्ने घटना भयो, थप घटना हुन नदिनका लागि हामी अभियान सञ्चालन गर्छौं ।’ जनचेतनाको कमी र आर्थिक अवस्थाका कारणले यस्ता घटना दोहोरिने गरेको सरोकारवाला बताउँछन् । सुत्केरी हुनका लागि स्वास्थ्य चौकी पुर्याउनुर्पेमा कोही नभएकै कारण रीताले ज्यान गुमाउनुपरेको उनको भनाइ थियो । घरमै सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा हुने भएकाले कसैले पनि त्यसो नगर्न प्रमुख शर्माले सुझाए ।
तारानाथ आचार्य । बागलुङ