सूचनाको शक्ति - The Power Of Information

        

दशैं मनाएर उपत्यका फर्कनेको भीड बढ्न थाल्यो

दशैं मनाउन काठमाडौँ उपत्यका बाहिर गएकाहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिन थालेको छ । उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलको भनाइ छ ।

नागढुंगा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ । नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ । दशैंको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात शून्य जस्तै बनेका थिए । नाकामा सवारी साधनको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।

यसवर्ष दशैंको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए । उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड देखिएको हो । उपत्यकाभित्र चल्ने सवारीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक सवारी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको देखिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार ०८:५९

लोकप्रिय