सूचनाको शक्ति - The Power Of Information

        

कृषि पेसा रुचाउँदैनन् खटिक जातिका युवा

जगदीश खटिक पूर्खाले गर्दै आएको काममै रमाएका छन् । बाँके डुडुवा गाउँपालिका–२ बाबागाउँ निवासी ५५ वर्षीय जगदीश कृषिकर्ममै समय बिताउँछन् । खेतबारीमै भेटिएका जगदीश पसिनाले निथ्रुक्क हुन्थे तर पनि उनमा थकान देखिँदैनथ्यो ।

उनीसँग धेरै जग्गा पनि छैन । उनी मौसम अनुसार धान, गहुँ, मकै, चना, तोरी लाउछन् । उनले जानेको काम नै खेतीपाती हो । खेतीपातीबाट आएको आर्जन नै परिवार पाल्ने माध्यम हो । छोरा सुरेन्द्र खटिक उनकै साथमा छन्, तर बुवाको काममा भने त्यति सघाउँदैनन् ।

बुवाको काम सघाउने त सोच्छन् तर उत्साही भएर अघि सर्दैनन् । तीस वर्षीय सुरेन्द्र बुवाले अ¥हाएपछि मात्रै गर्छन् । बुवाले खेतीपाती गरिरहेको हेरेर पनि उनले सिक्नुपर्ने हो । तर, अहिले उनले सिकेका छैनन् । काम गर्न मन भए पनि लजाउँछन् उनी ।

सुरेन्द्रलाई त्यो काम गर्ने इच्छा र चाहना पनि छैन । उनलाई यो विश्वास पनि छैन । यत्रो मिहिनेत गरेर कति आम्दानी हुने हो रु काम गरेर छाक टार्नेबाहेक अरु केही गर्न सकिन्न भने सोच छ, उनमा । उनका पुर्खाले त्यही काम गर्दै आएका थिए तर अबको पुस्ता भने कृषि कर्म गर्न तयार छैनन् ।

सुरेन्द्र जस्तै धेरै खटिक युवामा पूर्खाहरूले गरिरहेको काम, सीप सिक्ने उत्सुकता छैन । तर अघिल्लो पुस्ता भने कृषिकर्मसँगै भैँसी, बाख्रापालनमा सक्रिय छन् । विशेषतः खटिक जाती बङ्गुर चराउँथे । ढोल बनाउने, बजाउने गर्थे । तर अब अहिले त्यो लोप हुँदैछ ।

खटिकहरू मधेशी दलितभित्र पर्छन् । खटिक बाँकेका विभिन्न स्थानमा रहे पनि डुडुवा गाउँपालिकामा अलि बेँसी छन् । खटिक डुडुवा–२ बेतहनीमा बसोबास गर्दै आइरहेका छन् । यस क्षेत्रमा खटिकहरू ४०० को सङ्ख्यामा रहेको अनुमानमा छ ।

उनीहरू अल्पसङ्ख्यक जातिको सूचीमा पनि छन् । आयस्रोतको प्रमुख माध्यम कृषि पेसा भए पनि आज भोलिका युवापुस्ताले सो काम छोडेकामा चिन्तित छन्, अगुवा । पच्चीस वर्षीय लवकुशलाल खटिक भारतमा काम गर्न जान्छन् ।

दैनिक मजदुरी गरेरै परिवार पाल्छन् । लवकुशकी दुई बहिनी र एउटी आमा छिन् । उनलाई कृषि खेतीमा खासै रुचि छैन । खेतीपाती गर्नका लागि प्रर्याप्त जग्गा जमिन नभएका कारण पनि युवापुस्ता कृषि कर्म गर्न हच्किएको उनी बताउँछन् ।

परिश्रम र लगानी फिर्ता हुन्छ कि हुँदैन भन्ने अवस्था भएपछि कृषि पेसा रोज्न उत्साह नभएको हुनसक्ने उनको बुझाइ छ । लवकुशका अनुसार भने जस्तो जग्गा नभएका कारण खटिक सुदायलाई खेती गर्न धौधौ भएको छ । कतिपयले जग्गा अधिया लिएर खेती गरिरहेका छन् ।

खटिक समुदायका ७० प्रतिशतले अहिले पनि खेती नै गर्ने गर्दछन् तर यो सङ्ख्या विस्तारै घट्दै गएको छ । युवालाई कृषिमै निर्भर रहने वातावरण कहीँबाट बनिरहेको छैन । सबैभन्दा नजिकैको सरकारले खटिकहरूलाई हेर्न सकिरहेको छैन ।

डुडुवा गाउँपालिका–२ का अध्यक्ष दुर्गाप्रसाद बर्माले दलित र विपन्न वर्गलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याउने योजना रहेको बताए । उनले खटिक समुदायको यकिन तथ्याङ्कन भएको र तथ्याङ्क सङ्कलन गरी त्यसैका आधारमा युवा लक्षित कार्यक्रम ल्याउने बताए ।

डुडुवा गाउँपालिका कृषि विकास शाखा प्रमुख सुशीलकमार शर्मा मधेशी दलितअन्तगर्त खटिक रहेका कारण उनीहरूका लागि छुट्टै कार्यक्रम नरहेको बताए । डुडुवा गाउँपालिकाद्वारा दलित परिवारलाई प्राथमिकता दिने भनिए पनि त्यस्तो कार्यक्रम ल्याइएको छैन ।

खटिक समुदायका लागि भनेर वडास्तरबाट योजना तथा कार्यक्रम गर्न आएकाले पालिकाले स्वयं कार्यक्रम तय गर्न नसकेको शर्माले बताए । दलितको क्षेत्रमा कार्यरत दलित महिला सङ्घ बाँकेले दुई वर्षअघि खटिक समुदायका लागि खेती सिँचाइ सविधामा सहयोग गरेको थियो ।

कृषि शाखा प्रमुख शर्माका अनुसार तरकारी खेती गर्नेलाई सिँचाइ सुविधाका लागि मोटर, पम्पसेट आदि सहयोग गरिएको छ । वडाले युवालाई लक्षित गरेर कार्यक्रम माग भए पालिकाले बजेट छुट्यााउन सक्ने शर्माको भनाइ छ । खटिकजस्तै अन्य जातीको पनि डुडुवामा बसोबास रहेको छ ।

डुडुवामा अति विपन्न जातीको समुदायको बसोबास भएकाले उनीहरुको समग्र विकासका लागि पालिकाले विशेष रणनीति बनाएर कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार पालिकाभरि घरधुरी सर्भेक्षणको काम भइरहेकाले त्यसबाट आएको तथ्याङ्क अनुसार कार्यक्रम बनाइने छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार १५:०७

लोकप्रिय