सूचनाको शक्ति - The Power Of Information

        

दशैँ विशेष रिपोर्ट

शासन व्यवस्था फेरिए पनि नफेरिएको दशैँको अभ्यास

समाजवाद उन्मुख र धर्म निरपेक्ष संविधान अवलम्बन गरेको देशका राष्ट्रपतिले ‘राजाहरूकै शैलीमा’ सर्वसाधारणलाई टीका लगाइदिने प्रचलनप्रति यदाकदा आलोचनात्मक टिप्पणीहरू व्यक्त हुने गरेका छन् ।

२०८० को दशैँमा एक व्यक्तिलाई टीका लगाइदिँदै राष्ट्रपति रामचन्द्र पौडेल ।

नेपालमा २५० वर्ष पुरानो शाहवंशीय राजतन्त्रात्मक व्यवस्था अन्त्य भएर गणतन्त्र स्थापनापछि पनि राजतन्त्रकालको प्रचलनले परम्पराको रूपमा दशैँमा निरन्तरता पाइरहेको छ । त्यो प्रचलन विजया दशमीको दिनमा राष्ट्रपति कार्यालय र पूर्वराजाको निवासमा सर्वसाधारणका लागि टीका प्रदान गर्ने अभ्यास हो ।

राजाहरूले विजया दशमीमा उच्च पदस्थ सरकारी कर्मचारीहरू लगायत सर्वसाधारणलाई लागि टीका लगाइदिने चलन रहेकोमा दरबारबाट बाहिरिएका पूर्वराजाले इच्छुकहरूका निम्ति यो अभ्यासलाई निरन्तरता दिने गरेका छन् । यसको जानकारी उनको सचिवालयले सूचना प्रकाशित गरेर दिने गरिआएको छ ।

अर्कोतर्फ राजतन्त्र अन्त्यपछि स्थापना भएको नयाँ गणतान्त्रिक शासन व्यवस्थामा संवैधानिक राष्ट्र प्रमुखको भूमिकामा रहेका राष्ट्रपतिहरूले पनि त्यस्तो व्यवस्थालाई निरन्तरता दिएका छन् । राष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारीजस्तै गत फागुनमा राष्ट्रपति बनेका रामचन्द्र पौडेलले पनि यो अभ्यासलाई निरन्तरता दिए ।

तत्कालिन प्रधानमन्त्री र प्रधानमन्त्री पत्नीलाई टीका लगाइदिँदै पूर्व राष्ट्रपति भण्डारी । फाइल तस्वीर

समाजवाद उन्मुख र धर्म निरपेक्ष संविधान अवलम्बन गरेको देशका राष्ट्रपतिले ‘राजाहरूकै शैलीमा’ सर्वसाधारणलाई टीका लगाइदिने प्रचलनप्रति यदाकदा आलोचनात्मक टिप्पणीहरू पनि व्यक्त हुने गरेका छन् । ‘म यस्तो मान्यता फेर्नुपर्छ भन्ने मान्छे हो,’ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार रहिसकेका सुशील प्याकुरेल बताउँछन् ।

आफूले सल्लाहकार पदबाट राजीनामा दिनुअघिका तीन वटै दशैँमा राष्ट्रपतिबाट टीका नलगाएको उनले बताए । ‘मैले यस्तो कुराको विरोध गरेको हो । राष्ट्रपतिको सहयोगी टोलीका लागि कार्यतालिका नै बनाएर टीका लगाउन बोलाउने कुरा मलाई मन परेन । म जानकारी दिएरै टीका लगाउन गइनँ,’ उनले भने ।

आफूले टीका लगाउन नजाने जानकारी दिँदा तत्कालीन राष्ट्रपति भण्डारीले ‘स्वेच्छाले लिएको निर्णयमा आफूले केही नभन्ने’ प्रतिक्रिया दिएको उनले बताए । ‘मानिसहरू स्वेच्छाले जान्छन् भने फरक कुरा हो । उहाँहरूले टीका लगाइदिन नै नहुने पनि होइन । तर टिका लगाइदिने समय तोकेर त्यसलाई राज्यको प्रचलन बनाउनु हुँदैन भन्ने मेरो भनाई हो ।’

प्याकुरेल पहिलो राष्ट्रपति रामवरण यादवको समयमा राजाहरूकै जस्तो शैलीमा टीका लगाइदिने चलन चलेपछि दोस्रो पटक राष्ट्रपति बनेकी भण्डारीले पनि त्यसैलाई निरन्तरता दिएको बताउँछन् । ‘गणतन्त्र आएपछि राष्ट्र प्रमुखले टीका लगाउन आउन मानिसहरूलाई प्रेरित नगर्नुपर्ने हो । तर यसलाई धर्मसँग र संस्कृतिसँग पनि जोडियो,’ उनी भन्छन् ।

‘परम्पराको निरन्तरता’

नेपालमा राजाहरूले सर्वसाधारणका लागि विजया दशमीको दिन टीका लगाइदिने परम्परा भए पनि राजतन्त्र अन्त्य भएपछि पनि पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणका लागि टीका लगाइदिने अभ्यासलाई दिएको निरन्तरताप्रति प्रश्न उठ्ने गरेको छ ।

सुशील प्याकुरेल भन्छन्, ‘पूर्व राजालाई पनि आफू राजा नै छु भन्ने परिरहेको छ ।’ कोभिड महामारी र डेङ्गी सङ्क्रमणका कारण विगत तीन वर्षका दशैँमा पूर्वराजा शाहको निवासमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम भएन ।

तीन वर्षपछि पूर्व राजा शाहले यो वर्ष फेरी सर्वसाधारणलाई दशैँको टीका लगाइदिने बताइएको छ । पूर्व राजाले सर्वसाधारणलाई टीका लगाइदिने चलन कायम राख्नुको कारणबारेको प्रश्नमा उनका सचिव फणीराज पाठकले भने, ‘इतिहासदेखि सबै राजाहरूले टीका लगाउँदै आएको कुरालाई उहाँले पनि निरन्तरता दिनुभएको हो ।’

‘राजनीतिको विषय’

राष्ट्रपति र पूर्व राजाकहाँ दशैँको टीका लगाउन जाने मानिसहरू फरक फरक राजनीतिक आस्थाका हुने गरेको जानकारहरू बताउँछन् । संस्कृतिविद् गोविन्द टण्डन भन्छन्, ‘एक थरी सर्वसाधारण हुन्छन् तीनलाई राजनीतिसँग मतलब हुँदैन ।’

उनका अनुसार एक थरी मान्छेलाई चाहिँ त्यहाँ गएर देखिन पाए टीका ग्रहण गर्ने वा म छु भन्ने देखाउन पाए सामाजिक वृत्तमा र राजनीतिक वृत्तमा पनि प्रभाव पर्ने भएकोले कतिपयलाई त्यहाँ जाने देखिने देखाउने चलन हिजो पनि थियो अहिले पनि छ ।

‘पहिले राजाकहाँ भीड लाग्थ्यो । अहिले त्यस्तो किसिमको भीड न राष्ट्रपतिकहाँ हुन्छ न पूर्व राजाकहाँ हुन्छ । सर्वसाधारणले चाहिँ त्यसलाई नस्वीकारिसकेको हो कि भन्ने भाव देखिन्छ,’ सँस्कृतिविद् टण्डन बताउँछन् ।

नेपालमा गणतन्त्र स्थापनापछि चुनिने राष्ट्रपति पार्टीको उम्मेदवार हुने भएका कारण पनि सबै खाले राजनीतिक आस्था भएकाहरूले साझा रूपमा यो परम्पराका वाहकप्रति अपनत्व महसुस गर्न नसकेको हुनसक्ने टण्डनको ठम्याई छ ।

‘राजा भनेको भगवान्को अवतार हो भन्ने चलन थियो । अहिले राष्ट्रपति नै भए पनि त्यो भावना छैन । हुन त जो सत्तामा बस्छ राजा अथवा राष्ट्रपति जो भए पनि एउटै हुनुपर्ने हो तर पनि हिजोको भावनामा अलिकति सङ्कुचन आएको कारण पनि हुनसक्छ,’ उनी भन्छन् ।

दशैँमा अभिभावकबाट टीका र आशीर्वाद लिने प्रचलन रहेको र राजालाई देशको अभिभावक मान्ने गरिएका कारण राजाबाट टीका लगाउने परम्परा सुरु भएको हुनुपर्ने संस्कृतिविद् टण्डन बताउँछन् ।

स्रोत : बीबीसी
प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार ०९:०४

लोकप्रिय