सूचनाको शक्ति - The Power Of Information

        

१३२ दिनदेखि न्याय खोज्दै एक परिवार, दसैँमा पनि धर्नामा

बुधबार दिउँसो एक बजेतिर माइतीघर मण्डला पुग्दा एकै परिवारका चार जना खाना खान थाल थाप्दै थिए । दसैँमा हरेकको घरमा सबै परिवार बसेर सम्भव भएसम्म मिठो मसिनो खाने यो समयमा पनि धनुषाको नगराइन नगरपालिका–८ का विनोदप्रसाद साहको परिवार एउटा युवा समूहले दिएको खाना थापिरहेको थियो ।

विनोद प्रसाद साह र निर्मलादेवी साह आफ्ना दुई सन्तान प्रेम र मनिषालाई साथमा लिएर छोरी आरती साहको न्यायको लागि माइतीघरमा धर्ना बस्न थालेको १ सय ३२ दिन पूरा भयो । दसैँ सडकमै बित्यो तर तिहार र छठमा भने आफ्नो घर फर्किने वातावरण बन्नेमा साह परिवार आशावादी छ । उनीहरूको एउटै माग छ, आरती हत्या प्रकरणमा पुन निष्पक्ष छानविन होस् ।

दसैँ पनि सडकमै बिताउनुको पीडा समेट्दै आरतीका भाइ प्रेम साहले भने, ‘के दसैँ के चाडवाड हामी त न्याय नपाएसम्म घर नफर्किने भनेर हिँडेका हौँ । न्याय नपाएसम्म घर फर्किने छैनौँ ।’ तर सरकार निर्दयी बनेको उनको गुनासो छ । प्रशासनले दसैँमा पनि अनेक बहानामा बारम्बार दुःख दिएको उनले बताए ।

एकातिर आफन्त गुमाउनुको पीडा अर्कोतिर न्यायका लागि रातदिन सडककै बास चाडपर्व आएको र गएको पत्तै छैन साह परिवारलाई । आरतीकी आमाका आँखा ओभाएका छैनन् । कसैले केही सोध्यो भने केही बोल्दिनन् । आँशु मात्रै झार्छिन् । रोएर पीडा सकिँदो रहेनछ । गत जेठ ७ गते साँझ करिव साढे ६ बजे विनोदप्रसाद साहको मोबाइलमा फोन आयो ।

त्यो फोन उनकी छोरी आरती साहका ससुरा मदनमोहन साहको थियो । विनोदप्रसाद घरायसी कामले मोबाइल घरमा छोडेर बाहिर गएकाले पटकपटक फोन बजेको सुनेर विनोदकी कान्छी छोरी मनिषाले त्यो फोन उठाइन् । आरतीको स्वास्थ्य अवस्था खराब भएर जनकपुर अस्पताल लगिएको उनले मनिषालाई बताएका थिए । तर अस्पताल पुग्दा उनको मृत्यु भइसकेको थियो ।

२२ वर्षीया आरतीको २२ महिनाअघि मात्र मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाहीका मोतीबाबु साहसँग विवाह भएको थियो । विवाहमा मागेको २५ लाख रुपैयाँ दाइजो लिएको साह परिवारले पछि दाइजो कम भएको भन्दै आरतीको हत्या गरेको माइती पक्षको दाबी छ । तर मृतक आरतीका परिवारले उनले आत्महत्या गरेको दाबी गर्दै आएको छ ।

मृतकका श्रीमान् मोतीबाबु साह, सासु रेणुदेवी साह, ससुरा मदनमोहन साह र देवर रवि साहले आरतीको हत्या गरेको माइती पक्षको जिकिर छ । दिदीको हत्याराहरू खुलमखुल्ला हिँडिरहेको र प्रहरी प्रशासनले समेत आफूहरूलाई असहयोग गरेको मनिषाको गुनासो छ । ‘सरकारले न्यायको प्रक्रिया मात्रै सुरु गरिदिए पनि तिहारअघि नै घर फर्किन पाइन्थ्यो,’ मनिषाले भनिन् ।

आफूहरू गरीब भएकैले न्यायका लागि कसैले सहयोग नगरेको साह परिवारको गुनासो छ । राजनीतिक दलका नेतादेखि अधिकारकर्मीसमेत आएर न्यायका लागि पहल गर्ने आश्वासन दिएपनि अहिलेसम्म ठोस प्रगति नहुँदा उनीहरु निरास छन् । चाँडै सरकारले आफूहरूको पीडा बुझ्ने र न्याय पाउने आशा भने उनीहरूले मारेका छैनन् । आरतीको आत्महत्या नभई हत्या भएको ठहर गर्दै उनीहरूले हत्यारालाई कडा भन्दा कडा कारबाही र आफूमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग गरेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार ०८:४१

लोकप्रिय