सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा शान्तिपूर्वक दुर्गा भगवतीको मूर्ति विसर्जन

सद्भावको सहर बाँकेमा हिजो एकादशीको दिन शान्तिपूर्वक दुर्गा भगवतीको मूर्ति विसर्जन गरिएको छ । नगर परिक्रमा गरी राप्ती नदी तथा मानखोलामा मूर्ति विसर्जन गरिएको हो ।

शान्तिपूर्वक रुपमा मूर्ति विसर्जनका लागि चोकचोकमा प्रहरी तैनाथ गरिएकाे थियाे । बाँकेको कम्दीघाटमा रहेको राप्ती नदीमा दशैँमा स्थापना गरिएका करिब ४ सयभन्दा बढी धेरै मूर्ति विसर्जन गरिएको छ। कोहलपुर र खजुरा क्षेत्रमा स्थापना गरिएका यस्ता मूर्ति मानखोलामा विसर्जन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँकेमा स्थापना गरिएका करिब चार सय दुर्गा भगवतीका मूर्तिहरू शान्तिपूर्वक विसर्जन गर्नको लागि सुरक्षा प्रबन्ध मिलाउन १ हजार ५ सय नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाइएको र सुरक्षाको थप प्रबन्ध मिलाउन ड्रोन क्यामराबाट निगरानी राखिएको बताउनुभयो ।

मूर्ति विसर्जनका क्रममा कुनै पनि अप्रिय घटना नभएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहोराले बताउनुभयो । नेपालगञ्जमा दशैँको घटस्थापनाको दिनमा स्थापना गरिएका दुर्गा भगवतीको मूर्ति एकादशीको दिन बाजगाजासहित नगर परिक्रमा गराएर राप्ती नदी र मान नदीमा लगेर विसर्जन गर्ने परम्परा रहँदै आएको छ ।

बाँके प्रशासनले कुनै अवरोध नहोस् भनेर हिजो दिनभरी बाँकेमा जाँडरक्सीको बिक्री गर्न र खान प्रतिबन्ध लगाइएको थियो । यस्तै, हिजो एक दिनका लागि भारतसँगको जमुनाहा नाका पनि बन्द गरिएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार ०७:२०

लोकप्रिय