सूचनाको शक्ति - The Power Of Information

        

इजरायलले माग्यो राष्ट्रसंघका महासचिवको राजीनामा

अक्टोबर ७ मा हमासले गरेको हमलापछि गाजामा इजरायलको जवाफी कारबाहीविरुद्ध संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजरायलले उनको राजीनामा मागेको छ ।

राष्ट्रसंघमा इजरायली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेस राष्ट्रसंघको नेतृत्व गर्न ‘अनुपयुक्त’ भन्दै राजीनामा माग गरे ।

“बालबालिका, महिला र वृद्धवृद्धाको सामूहिक हत्याको अभियानमा समझदारी देखाउने महासचिव राष्ट्रसंघको नेतृत्व गर्न योग्य हुनु हुन्न, म उहाँलाई तुरुन्त राजीनामा दिन आग्रह गर्दछु ।

इजरायली नागरिक र यहुदीका विरुद्ध भएको सबैभन्दा भयानक अत्याचारका निम्ति दया देखाउने महासचिवसँग कुरा गर्नुको कुनै औचित्य नै छैन,” सामाजिक सञ्जाल एक्समा उनले भनेका छन् ।

राष्ट्रसंघका महासचिव गुटेरेसले हमासले गरेको हमला ‘शून्यमा नभएको’ भन्दै ‘प्यालेस्टाइनी नागरिकलाई सामूहिक सजाय’ उचित नभएको टिप्पणी गरेपछि इजरायलको उक्त भनाइ आएको हो ।

“हमासले गरेको हमला शून्यमा भएको होइन भन्ने कुरालाई पनि मान्यता दिनु महत्त्वपूर्ण हो । प्यालेस्टाइनी जनता ५६ वर्षदेखि दमनकारी कब्जामा परेका छन् । उनीहरूले आफ्नो भूमि निरन्तर बस्तीको व्यवस्थापन र हिंसाबाट ग्रस्त भएको देखेका छन् ।

उनीहरूको अर्थतन्त्र अवरुद्ध भएको छ । उनीहरूका मानिस विस्थापित भएका छन् र घर ध्वस्त भएको छ । आफ्नो दुर्दशाको राजनीतिक समाधान हुने उनीहरूको अपेक्षा हराउँदै गइरहेको छ,” महासभामा महासचिव गुटेरेसले भनेका थिए,

“प्यालेस्टाइनी जनताका गुनासोले हमासले गरेको भयानक हमलालाई उचित ठहर गर्न सक्दैन । ती भयानक हमलाले प्यालेस्टाइनी जनताको सामूहिक सजायलाई उचित ठहर गर्न सक्दैन ।”

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार १६:५३

लोकप्रिय