सूचनाको शक्ति - The Power Of Information

        

सुस्ताका विद्यार्थीको सास्ती : गाउँमा पढ्न स्कुल छैन, अन्त जान पुल छैन

सुस्ता गाउँपालिका वडा नम्बर ५ मा रहेको कक्षा ८ सम्म मात्रै पठनपाठन हुने जनता दलित आधारभूत विद्यालय ।

पश्चिम नवलपरासीको विकट सुस्ता गाउँ भौगोलिक हिसाबले विकटमात्र छैन, शैक्षिक सुविधाको अवसरबाट पनि बञ्चित रहेको छ । यहाँका अधिकांश बालबालिकाले माध्यमिक कक्षासम्म पढ्न पाएका छैनन् । तीनतिरबाट नारायणी नदी र एकातर्फ भारतको विहार राज्यबाट घेरिएको छ । सुस्ता गाउँपालिका–५ अन्तर्गत सुस्ता गाउँमा नेपालको बाटो भएर आवतजावत गर्ने एकमात्र माध्यम नारायणी नदीमा जोखिमपूर्ण डुङ्गाबाट पार गर्नुपर्छ ।

यसबाहेक नारायणी नदीमा भारतले बनाएको बाँध माथिको पुल तरेर भारतीय भूमि हुँदै सुस्ता आवतजावत गर्ने अर्को कठिन विकल्प रहेको छ । सुस्ता गाउँका जनतालाई शिक्षा, स्वास्थ्य र सुरक्षित आवासजस्ता आधारभूत सुविधा समेत पर्याप्त छैन । त्यहाँ रहेको एकमात्र जनता दलित आधारभूत बिद्यालयमा चार सय बढी बालबालिका अध्ययन गर्छन् । २०५९ सालमा स्थापना भएको यस विद्यालयमा आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ ।

विद्यालयमा सात शिक्षक र दुई कर्मचारी कार्यरत छन् । चार शिक्षक मात्रै दरबन्दीमा रहेकाले अन्य तीन शिक्षकलाई गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट व्यवस्थापन गर्दै आएको छ । विद्यालयमा भर्नादर उत्साहजनक भएपनि अन्तिम कक्षा ८ सम्म पुग्दा भने विद्यार्थीको संख्या न्यून हुने गरेको छ । विद्यालयमा कक्षा १ मा ९३ विद्यार्थी अध्ययनरत रहे पनि ८ कक्षासम्म पुग्दा धेरैले पढाइ छोडिसकेका हुन्छन् ।

कुडियास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापक उदय रुचालका अनुसार गत वर्षका वार्षिक परीक्षामा कक्षा ८ मा जम्मा ११ जना विद्यार्थी सहभागी थिए । कक्षा ८ उत्तीर्ण गरेका विद्यार्थीमध्ये केही नजिकैको भारतीय विद्यालयमा र केही नारायणी नदी पारि कुडियास्थित सामुदायिक विद्यालयमा भर्ना भए । एकातर्फ नारायणी नदीमा जोखिमपूर्ण डुङ्गाको यात्रा पार गर्नुपर्ने वा विकल्पको रुपमा भारतीय भूमि हुँदै जानुपर्ने भौगोलिक विकटताका कारण यहाँका बालबालिकालाई आफ्नो पढाइलाई निरन्तरता दिन सजिलो छैन ।

पूर्वाधार र शिक्षकको अभावका कारण विद्यालयमा माध्यामिक तहसम्म कक्षा सञ्चालन गर्न कठिनाइ भएको प्रधानाध्यापक रुचाल बताउँछन् । ‘आधारभूत तह पार गरेपछि थप अध्ययनका लागि कि त नारायणी नदी पार गरेर अर्को विद्यालयमा जानुपर्यो कि त भारतीय विद्यालयमा जानपर्ने यहाँका बालबालिकाको बाध्यता हो,’ विद्यालयका सहायक प्रधानाध्यापक औरंगजेब खानले भने । उनले थपे, ‘जसको बाहिर व्यवस्था हुन्छ, नातेदार छन् उनीहरुले मात्रै पढाईलाई निरन्तरता दिन सकेका छन् ।’

नारायणी नदीमा निर्माणाधीन पुल सञ्चालनमा नआउँदासम्म कक्षा १ देखि माथिल्लो कक्षामा जाँदा नै क्रमशः विद्यालय छाड्ने क्रम बढदै जाने गरेको सहायक प्रधानाध्यापक खानको भनाइ छ । उनले भने, ‘सबैभन्दा बढी कक्षा ८ देखि माथि त पाँच प्रतिशत विद्यार्थी पनि आफनो पढाइलाई निरन्तरता दिन सक्दैनन् ।’ बालबालिकाले आफ्नो पढाईलाई निरन्तरता दिन सुस्ताको भौगोलिकताका कारण आधारभूत तह उत्तीर्णपछि बाहिर गएर अध्ययन गर्न मुख्य समस्या रहेको स्थानीय सामाजिक कार्यकर्ता मुन्सिकुमार हरिजन बताउँछन् ।

‘यहाँका बालबालिकाले आफ्नो पढाइलाई निरन्तरता दिन आर्थिकरुपमा जो सम्पन्न छन् उनीहरुले मात्रै बाहिर गएरपनि पढाइलाई निरन्तरता दिन सक्छन्, कमजोर आर्थिक अवस्था भएकाले बीचमै पढाइ छाडेर बस्नुपर्ने बाध्यता छ,’ उनले भने । छोराछोरीलाई इच्छा हुँदाहुँदै पनि पढाउन नपाएकामा गुनासो गर्दै सुस्तामै कम्तिमा कक्षा १२ सम्मको पठनपाठन हुनुपर्ने उनको माग छ । नारायणी नदीमा झोलुङ्गे पुलको निर्माण सुरु गरेको वर्षौं हुँदासमेत निर्माण कम्पनीको ढिलाइका कारण पूरा भएको छैन ।

नदी वारपार गर्न जोखिमपूर्ण डुङ्गा प्रयोग गर्नुपर्छ । नदीमा पानीको सतह बढ्दा ढुङ्गा सञ्चालन पनि हुँदैन । माध्यमिक तहका लागि धेरै बालबालिका सीमापार विहारको भेडिहारी वा लक्ष्मीपुर पुग्नुपर्ने बाध्यता छ । भारतका विद्यालयमा पढ्न जाँदा जङ्गलको बाटो र सीमामा सुरक्षाकर्मीको कडा जाँचका कारण समस्या भएको अर्का स्थानीयवासी आदम खाँ बताउँछन् । उनका अनुसार धेरै अभिभावक पक्लिहवामा कोठा भाडामा लिएर छोराछोरी पढाउन बाध्य छन् ।

सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय सिङ्गा पालिका नै विकासका भौगोलिक हिसावले मात्र नभई हरेक क्षेत्रमा पिछडिएको बताउँछन् । उनी भन्छन्, ‘अब पालिकाले नै विद्यालयमा थप शिक्षक तथा कर्मचारीको दरवन्दी व्यवस्था गरेर भए पनि स्तरोन्नति गर्ने सोचाइ बनाएका छौँ ।’ गाउँपालिकाको कुल ४१ हजार ३९६ जनसंख्यामध्ये सुस्ता गाउँमा करिव ३०० घरधुरीमा ३३०० मानिस वसोवास गर्छन् । यहाँको साक्षरताको अवस्था ६२.४९ रहेको पालिकाको तथ्याङ्मा उल्लेख छ । यस पालिकामा प्राथमिक तहका छ, माध्यमिक तह पाँच, आधारभूत तह पाँच, निजी पाँच र मदरशा पाँच शिक्षण संस्था रहेका छन् ।

स्रोत : रासस
प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार १६:४१