सूचनाको शक्ति - The Power Of Information

        

दसैँमा किन सुनसान भएन काठमाडौं ?

विगतका दसैँमा काठमाडौंका सडक सुनसान हुन्थे । तर, यस पटक विजादशमीको दिन पनि काठमाडौंका सडकमा यातायातको साधन बाक्लै देखियो । कतिपय चोकमा त दशैंको सबै दिन जाम नै भयो ।

लाखौँ मानिस दसैँ मनाउन गाउँ जाने भएकाले विगतमा काठमाडौंका सडक अति सुनसान हुने गरेको थियो । तर, यस पटक भने विगत झैँ सडक सुनसान भएन । यसका मुख्य सात कारण मानिएको छ ।

१. यस वर्ष देशमा आर्थिक मन्दी छ । अर्थतन्त्र डामाडोल भएका कारण विगतका वर्षहरू झैँ यस वर्ष धेरै मानिस दसैँ मनाउन गाउँ जान सक्ने अवस्था रहेन । आर्थिक मन्दीको बेला दसैँ मनाउन जाँदा ठूलो खर्च हुने भएकाले धेरै मानिस गाउँ नजाँदा यस पटक काठमाडौं विगत झैँ सुनसान नभएको हो ।

२. पछिल्लो समय बाहिरबाट आएर काठमाडौंमा परिवार नै बसोबास गर्नेको संख्या पनि बढ्दै गएको छ । परिवारका सम्पूर्ण सदस्य काठमाडौं मै हुनेको संख्या बढ्दै जानु पनि दसैँको बेला काठमाडौंमा मानिसको चहलपहल बढ्नु हो ।

३. दसैँको बेला अत्यधिक मानिस बाहिरिने भएकाले सार्वजनिक यातायातका साधनको यात्रा अति कठिन हुने गर्दछ । कठिन यात्राबाट आजित धेरै मानिस यस पटक दसैँमा गाउँ नगएका कारण पनि दसैँको बेला काठमाडौंमा यस वर्ष चहलपहल बढेको हो ।

४. सूचना र प्रविधिको सहज पहुँचका कारण आजभोलि भौतिक रूपमै भेट्नुपर्दैन । गाउँ र विश्वका जुनसुकै कुनामा बसोबास गर्ने परिवारबिच पनि छिनछिनमा कुराकानी भइरहने भएका कारण पनि दसैँलाई नै भेटघाटको अवर मान्नुपर्ने कारण रहेन । यस कारण पनि भेटघाटकै लागि भनेर गाउँ नजानेको संख्या बढ्दै जाँदा दसैँको बेला काठमाडौंमा चहलपहल बढेको हो ।

५. गाउँघर सुनसान छ । अधिकांश युवा विदेशमा छन् । गाउँघरमा बुढापाका मात्र हुन्छन् । अधिकांश मानिस त गाउँ छोडेर सहर पसिसकेका छन् । मान्छे नै नभएपछि सुनसान बनेको गाउँमा दसैँ खासै रमाइलो नहुने भएका कारण पनि धेरै मानिस सहरबाट गाउँ गएनन् । यस कारण पनि दसैँको बेला काठमाडौंमा चहलपहल धेरै देखिएको हो ।

६. कारण, आजकल पहिले पहिले जस्तो दसैँको रौनक छैन । दसैँ मान्नेका लागि टीका थाप्ने बाहेक दसैँमा हुने खानपान र नयाँ लुगा लगायतका गतिविधि सहरमा सधैँ चलिरहन्छ । त्यसैले पहिले पहिले जस्तो दसैँको रौनक छैन । यस कारण पनि दसैँ भनेरै गाउँ जाने कम हुँदा काठमाडौंमा मानिसको चहलपहल धेरै देखिएको हो ।

७. र, पहिले पहिले जस्तो सबै जाति वा समुदायले दसैँ मान्ने अवस्था रहेन । ‘धार्मिक तथा सामाजिक दृष्टिमा दसैँ हाम्रो चार्ड होइन’ भन्दै दसैँ मान्न छोड्नेको जमात पनि बढ्दै गएको हो । यसरी दसैँ नमान्नेहरू पनि दसैँको बेला गाउँ नजाँदा सहरमा मानिसको चहलपहल बढेको हो ।

विगतभन्दा धेरै खुले पसल

काठमाडौंमा यस वर्ष व्यापार व्यवसाय विगत झैँ पूर्ण रूपमा ठप्प रहेन । अधिक संख्यामा मानिस बाहिरिए पनि सबैले व्यापार भने बन्द गरेनन् । लत्ता कपडा र खाद्यान्न जस्ता व्यापार भने चलेकै थियो ।

आर्थिक मन्दीका कारण व्यापार सुस्ताएको बेला केही व्यापार भइहाल्ला कि भनेर धेरैले पसल खोलेको देखियो । कतिपयले चाहिँ दसैँको लामो बिदामा घर बस्न दिक्क लागेर पनि पसलहरू खोलेका थिए ।

दसैँमा पनि टेकअवे व्यवसाय भने जारी नै रह्यो । घर–घर सम्म पाकेका परिकार पु¥याउने फुडमाण्डु, फुडगञ्ज, पठाओ फुड लगायतका टेकअवे सेवा प्रदान गर्ने कम्पनीहरूले दसैँका बेला पनि उपभोक्ताको घर–घरमा विभिन्न परिकार पुराएका छन् ।

दसैँ पछिको चहलपहल

यस वर्ष दसैँ पछिको चहलपहल पनि छिट्टै सुरु भएको छ । विजयादशमीको भोलिपल्ट अर्थात् बुधवार नै सडकमा बाक्लो मात्रामा यातायातका साधन देखिएका छन् । दसैँको बिदा बाँकी नै रहे पनि दसैँको भोलिपल्ट नै बढेको चहलपहलले पनि यस वर्ष संघीय राजधानी काठमाडौैंबाट विगतको तुलनामा कम मानिस गाउँ गएको बुझ्न सकिन्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार १४:४३

लोकप्रिय