सूचनाको शक्ति - The Power Of Information

        

जमुनाहा नाका बन्द, राप्ती नदीमा गोताखोर टोली

नेपाल–भारत सीमा क्षेत्रस्थित नेपालगन्जको जमुनाहा नाका बुधबार एक दिनका लागि बन्द गरिएको छ । हिन्दु धर्मावलम्वीहरुले दसैंमा स्थापना गरेका दुर्गा मूर्तिहरु धार्मिक र्‍याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि आज एकदिनका लागि जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमापारिका सुरक्षा अधिकारीहरुसँगको सल्लाह र समन्वयमा आज राति ८ बजेसम्मका लागि उक्त नाका बन्द गरिएको प्रजिअ पोखरेलले जानकारी दिए । एम्बुलेन्स, दमकल तथा औषधि, खाद्यान्न लगायतका ढुवानी गर्ने अत्यावश्यक सवारी साधनहरु बाहेक अन्य सबैलाई नेपाल प्रवेशमा रोक लगाइएको उनले जानकारी दिए ।

नेपालगन्जका सडकहरुमा अहिले दुर्गा मूर्ति सेलाउन ताल तलैया, जलकुण्ड तथा नदीतर्फ लैजाने कार्य भइरहेको छ । नेपालगन्जका सडकहरुमा दुर्गा मूर्ति राखिएका ट्रक तथा ट्रयाक्टरहरुसहितको धार्मिक र्यनली भइरहेको छ । कुनै सम्भाव्य घटना तथा दुर्घटना हुन नदिन तथा मूर्ति विसर्जन गरिने कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लाभरी नै सुरक्षा सतर्कता अपनाउँदै कडा सुरक्षा व्यवस्था गरिएको छ ।

राप्ती नदीमा गोताखोर टोली

सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको कम्दीस्थित राप्ती नदीमा उद्धार टोली तैनाथ पारिएको छ । दुर्गा मुर्ति विसर्जन कार्यलाई सुरक्षित बनाउन र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन राप्ती नदीको सिधनीया घाटमा उद्धार टोली खटाइएको हो । प्रजिअ पोखरेलका अनुसार राप्तीसोनारीको अगैयास्थित राप्ती नदीमा पनि गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको छ ।

कतिपय ठाउँहरुमा दुर्गा मुर्ति विसर्जनका क्रममा नदीमा डुबेर वेपत्ता हुने तथा ज्यान समेत जाने घटनाहरु घटिरहेको हुँदा सर्वसाधारणलाई नदीबाट हुने सम्भावित दुर्घटनाबाट बचाउन गोताखोरसहितको टोली परिचालन गरिएको प्रजिअ पोखरेलले बताए । राप्ती नदीको सिधनियाघाट र अगैयास्थित घाटमा बाँकेका विभिन्न स्थानमा राखिएका दुर्गाका मुर्तिहरु विसर्जन गरिने परम्परा छ । ती घाटमा अत्यधिक भीडभाड हुने गर्छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार १४:२८

लोकप्रिय