सूचनाको शक्ति - The Power Of Information

        

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको दशैं हिरासतमै

नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ महिनादेखि थुनामा रहेका आरोपीहरूको मुद्वाको सुनुवाई दशैपछि मात्रै हुने भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितको मुद्दामा गत बिहीबार अर्थात असोज २५ गते पनि बहस हुन पाएन ।

उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने आदेशविरुद्ध विचाराधीन मुद्दामा बिहीबार उच्चले अन्य आदेश गर्दै पन्छायो । यसअघि पनि इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश गर्दै पन्छाएको थियो । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा परेको थियो ।

सोही प्रकरणसँग जोडिएको अर्को निवेदन पनि पेस भएको र जिल्ला अदालतबाट कैफियत प्रतिवेदन पेस भएकाले त्यसलाई पनि साथै राखेर दशैपछि सुनुवाइ गर्ने आदेश गरेको हो । थुनामा रहेका प्रतिवादीहरूको अब दशैंअघि रिहा हुने आश समाप्त भएको छ । यो सँगै यस प्रकरणमा संलग्न भनिएको हाइप्रोफाइल अभियुक्तको दशैं हिरासतमा नै हुने भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एकै व्यक्तिबाट ४५ लाखसम्म लिएर ठगी र संगठित अपराध गरेको भन्दै काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डे लगायतलाई थुनामा पठाएको थियो ।

काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको र थुनामुक्त भएरै मुद्दा लड्न पाउनुपर्ने माग गर्दै पूर्वमन्त्री खाण, पूर्वमन्त्री रायमाझीलगायतले गत साउन १२ गते उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए । यसअघि नै चार पटक पेसीमा चढिसकेको उक्त निवेदनमा असोज २५ गते पुनः लगाएको मुद्दा साथै राख्ने आदेश भएको थियो ।

पाँचौपटक पेसीमा चढेर सुनुवाइ भयो तर निवेदकले चाहे अनुसार बहस हुन सकेन । पहिलो पेसीमा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएपछि दोस्रो पेसी निवेदकका कानुन व्यवसायीले स्थगित गराएका थिए । असोज ४ गतेको पेसी हेर्न नभ्याइनेमा परेको थियो भने असोज १८ गतेको पेसीमा न्यायाधीशले हेर्दाहेर्दैमा राख्नुपर्ने भएकाले आफूले नसक्ने भनी अन्य आदेश गरेर पन्छिएका थिए ।

खाण र रायमाझीसहित नरेन्द्र केसी, टेकनारायाण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, डा ईन्द्रजीत राई, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शम्शेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सागर राई र रामशरण केसीले थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए ।

उनीहरूमाथि ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा चलिरहेको छ । यो प्रकरणको अर्को पेसी अब दशैंपछिको पहिलो बिहीबार हुनेछ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पाँच वर्षयता जारी रहेको ठगी तथा संगठित अपराधको यो गिरोहका मुख्य नाइकेहरू केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई गत वर्ष चैत १२ मा उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।

त्यसपछि काठमाडौं जिल्ला अदालतको गत असार १ गतेको थुनछेक आदेशपछि विगतमा पक्राउ परेकामध्ये टंक गुरुङ र लक्ष्मी महर्जन भने धरौटीमा रिहा भएका थिए । यो प्रकरणमा संलग्न रहेको प्रमाण पाइएपछि तत्कालिन गृहमन्त्री खाण (वैशाख २७), सांसद एवं तत्कालीन उपप्रधानमन्त्री रायमाझी (वैशाख ३१), तत्कालीन गृह सचिव एवं बहालवाला उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे (वैशाख २०) र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राई(वैशाख १९)मा पक्राउ परेका थिए ।

त्यस्तै, पूर्व सांसद आङटावा शेर्पा, गृहमन्त्री खाणका निजी सहयोगी नरेन्द्र केसी, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, सागर थुलुङ राई, शमशेर मियाँ, आशिष बुढाथोकी, सन्दीप रायमाझी, रामशरण केसी र टेकनाथ रिजालसमेत पक्राउ परेर पहिलो चरणमा पूर्पक्ष थुनामा बसेका थिए । ठगी, किर्ते, राज्यबिरुद्धको र संगठित अपराधका चार अभियोगमा थुनामा रहेकामध्ये कांग्रेस र एमालेका बरिष्ठ नेता समेत रहेका पुर्व मन्त्रीहरू खाँड र रायमाझीलाई भद्रगोल जेलमा राखिएको छ ।

यीमध्ये कांग्रेसका केन्द्रिय सदस्य रहेका खाँड अझै पार्टीगत कारबाहीमा परेका छैनन्, उनलाई भेट्न केन्द्रीय नेताहरू भद्रगोल जेल दिनहुँजसो गइरहेका छन् । एमाले सांसद एवं केन्द्रीय सचिव रायमाझीलाई भने एमाले दलले निलम्बन गरिसकेको छ । यस्तै, पूर्व गृहसचिव पाण्डे, सुरक्षा सल्लाहकार डा.राई, भुटानी नेता टेकनाथ रिजाल, सन्देश शर्मा लगायत भने केन्द्रीय जेलमा छन् । यस्तै, यो गिरोहका प्रमुख नाइकेहरू केशव दुलाल र सानु भण्डारी भने नख्खु कारागारमा रहेका छन् ।

उच्च अदालतमा पालोक्रममा हरेक बिहीबार पेशी चढ्ने भएकाले आसन्न दशैं पर्वपछि कात्तिक १६ मा शरणार्थी मुद्दाको पेशी चढ्नेछ । यो अभियोगमा जोडिएर पक्राउ पुर्जी जारी भएका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक, सुरक्षा सल्लाहकार इन्द्रजीत राईका छोरा निरजसहितका १४ आरोपित गत वैशाखदेखि फरार सूचीमा रहेका छन् । भुटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै गिरोहले नेपाली नागरिकसँग करोडौं ठगी गरेको पाइएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलवार १०:०१

लोकप्रिय