सूचनाको शक्ति - The Power Of Information

        

जीप दुर्घटना अपडेट : रानीमहल घुमेर फर्किँदा एकै परिवारका ६ जनाको मृत्यु

पाल्पाको रानी महल घुमेर फर्कने क्रममा जीप दुर्घटना हुँदा आइतबार ज्यान गुमाएका ६ जना एकै परिवारका सदस्य रहेको पुष्टि भएको छ । उनीहरू पूर्वी नवलपरासीको देवचुली नगरपालिका रजहरका बासिन्दा हुन् ।

श्रीमान, श्रीमती, सम्धिनी, बुहारी र दुई नातीले ज्यान गुमाएका छन् । देवचुली नगरपालिका १६ रजहर निवासी मृतक ६५ वर्षका कृष्णबहादुर लोहनी, पार्वती लोहनी श्रीमान, श्रीमती हुन् । उनीहरूकी बुहारी र दुई नातीहरूको दुर्घटनामा मृत्यु भएको हो । ईसव लोहनी र सबिस लोहनी नाति हुन् ।

सबिना धिताल बुहारी हुन् । मृतक चुनु धिताल सबिनाकी आमा हुन् । घाइते चालक ईश्वरबहादुर लोहनी कृष्णबहादुरका छोरा हुन् । देवचुली नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष केशवराज गौतमका अनुसार उनीहरू शनिबार रानीमहल घुम्न भन्दै घरबाट गएका थिए । ‘उहाँहरू सबै मेरा छिमेकी हुनुहुन्छ । सबैलाई म चिन्छु,’ गौतमले भने ।

उनका अनुसार कृष्णबहादुर लामो समयदेखि वैदेशिक रोजगारीमा थिए । केही समयअघि मात्रै उनी घर फर्केका थिए । पाल्पाको रानीमहल अवलोकन गरेर फर्किने क्रममा उनीहरू सवार बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जीप पाल्पाको तानसेन नगरपालिकाको वैकुन्ठे छाँगोमा दुर्घटनामा परेको थियो ।

पाल्पाको पर्यटकीयस्थल रानीमहल घुम्न गएकाहरूलाई लिएर फर्किँदै गरेको जीप उकालो सडकमा पछाडि हटेर दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ । प्रहरीका अनुसार दुर्घटनास्थल अप्ठ्यारो भिर रहेको र जीप बराङ्दी खोलाको खोंचमा झरेकाले प्रहरीलाई समयमै उद्धारमा समेत कठिनाइ भएको थियो ।

साँझ ५ बजेतिर भएको उक्त दुर्घटनाका मृतक तथा घाइतेलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । दुर्घटनास्थल पाल्पा सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ भने रानीमहलबाट फर्किएको डेढ किलोमिटरको दुरीमै जीप दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार ११:०८

लोकप्रिय