सूचनाको शक्ति - The Power Of Information

        

दशैँको मौकामा गुपचुप खुलाइयो सुपारी, केराउ र मरिचको आयात

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बडादशैँको अन्तिम समयमा सुपारी, केराउ र मरिचको आयात गुपचुपमा खुलाएको छ । श्रीराम गुट्खा उद्योगमा कमलकिशोर मालपानी, विराटनगरका उद्योगी दिनेश राठीको सहयोग र संलग्नतामा सरकारले चालु आर्थिक वर्षका लागि सुपारी, केराउ र मरिचको आयात खुलाएको हो ।

‘सुपारी आयात खुलाउनमा ठूलो आर्थिक चलखेल भएको छ, यसमा ठूलै गिरोह संलग्न छ’, उद्योग मन्त्रालय स्रोतले भन्यो । केही दिनअघि गुपचुप रुपमै सुपारी आयात खुला गर्ने निर्णय गरेको थियो । त्यो सूचनालाई राजपत्रमा प्रकाशित भने गरेको थिएन । तर गत शुक्रबार दशैँ बिदाको छेको पारेर राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले औद्योगिक प्रयोजनका लागि खुला गर्ने निर्णय गरेबमोजिम शुक्रबार राजपत्रमा प्रकाशन गरिएको हो । दुई वर्षअघि औद्योगिक प्रयोजनमा के कसरी आयात दिने भन्ने कार्यविधि बनाइएको थियो । त्यसलाई नै आधार मान्ने गरी आयात खुलाइएको सरकारको दाबी छ ।

शुक्रबार उद्योग मन्त्रालयले राजपत्रमा सूचना पठाउँदै आयात खुलाएको स्रोतले जनाएको छ । सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा १ बमोजिम यी वस्तुलाई प्रतिबन्ध लगाइएको थियो ।

सोही ऐनको खण्ड ७२, अतिरिक्ताङ्क ३६, २०७९।०५।२१ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरेकामा सोही दफाको उपदफा २ ले दिएको अधिकार प्रयोग गरी ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७८’ लाई निरन्तरता दिइएको राजपत्रमा उल्लेख छ ।

यस व्यवस्थाअनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि औद्योगिक प्रयोजनका लागिमात्र कच्चा पदार्थको रुपमा केराउ, सुपारी र मरिच सेतो कालो दुवै पैठारी गर्न अनुमति दिने निर्णय गरेकाले यो सूचना प्रकाशन गरिएको राजपत्रमा भनिएको छ । तेस्रो मुलुकबाट सुपारी आयातमा ठूलो परिणाममा विदेशी मुद्रा विदेशिन्छ ।

नेपाली उद्योगका लागि भनेर सरकारले आयात खोले पनि अवैध रूपमा ठूलो परिमाणमा सुपारी भारततर्फ निकासी हुने गरेको छ । सुपारी निकासीमा अर्बौं रूपैयाँको चलखेल हुने भएकाले सुपारी व्यापारीको सेटिङमा सरकारले आयात खुला गरेको हो । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले यसअघि नै सुपारी लगायत वस्तु आयात खुला गर्ने निर्णय गरेको थियो ।

त्यसपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी आयात खुला गरेर नेपाली सुपारीलाई प्रतिस्थापन गर्ने र विदेशी सुपारी आयात गरी भारततर्फ तस्करी गर्न सहज बनाएको थियो । नेपालमा हरेक वर्ष १२ हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको तथा त्यो सुपारी पनि नेपालका उद्योगीहरुले राम्रो मूल्य नदिएका कारण बिक्री नहुने अवस्थाकै बीचमा सरकारले २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिएको छ ।

नेपालको उद्योगमा १२ सय टन पनि खपत नहुने सुपारी कुन प्रयोजनका लागि आयात खुला गरिएको हो भन्ने बारेमा सरकारले यकिन जवाफ दिन सकेको छैन । अहिले पनि त्यो अन्यौलमै रहेको छ । डा.आरजू राणा देउवा कृषि समितिको सभापति हुने वित्तिकै सुपारी आयात खुलाउनु पर्ने धारणा सार्वजनिक गरेकी थिइन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार १०:०१

लोकप्रिय