सूचनाको शक्ति - The Power Of Information

        

अन्नपूर्ण केबलकार दसैँभर खुल्लै

अन्नपूर्ण केबलकार दसैँमा पनि खुल्ला रहने भएको छ । दशमी र एकादशीका दिन कात्तिक ७ र ८ गते दिनको १ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुने अन्नपूर्ण केबलकारका महाप्रबन्धक अन्जन बडगामीले जानकारी दिए ।

‘यात्रुहरुको चापलाई मध्यनजर गर्दै टीकाको र एकादशीको दिनमा सिमित समयको लागि भए पनि दिवा सेवा सञ्चालनमा नै रहने छ,’ बडगामीले भने । महाप्रबन्धक बडगामीका अनुसार अन्नपूर्ण केबलकार कात्तिक ९ गतेदेखि नियमित सञ्चालनमा आउने छ ।

फेवातालको किनार सेदीबगरदेखि सराङकोट सम्मको यात्रा सहजताका लागि स्थापना गरिएको अन्नपूर्ण केबलकार पोखराको पहिलो केबलकार हो । केबलकारमार्फत पोखराको फेवाताल किनारबाट सराङकोट (२.४ किमि) यात्रा दुरी दस मिनेट लाग्छ ।

केबलकारको १७ गोण्डोला यात्रुका लागि र एक गोण्डोला सामान ओसारपसार गर्न प्रयोग गरिनेछ । एक गोण्डोलामा आठ जनाको सिट क्षमता छ । केबलकारबाट फेवातालसँगै सराङकोटबाट सूर्योदय र सूर्यास्त, मनोरम हिमशृङ्खला, फेवाफाँट, पुम्दीकोट तथा पोखराको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ ।

केबलकारको माथिल्लो स्टेसनमा भ्यू टावर रेस्टुरेन्ट, गार्डेन, पार्किङ, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काईसाइकलिङ र स्विङ रहेका छन् । केबलकार सञ्चालनमा आएपछि पोखरामा पर्यटकहरुलाई यात्रा सहज भएको छ । केबलकार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने गरेको महाप्रबन्धक बडगामीले बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार ०७:४८

लोकप्रिय