आज आश्विन शुक्ल नवमी । सोमबार महानवमी पर्व मनाइँदैछ । महानवमीमा भगवती दुर्गाको नवौँ रूप सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । यिनको उपासनाले भक्तजनले सिद्धि प्राप्त गर्छन् । चार भुजामा चक्र, गदा, शंख र कमल पुष्प लिएकी, कमलकै आसनमा बसेकी सिद्धिदात्रीको स्वरूप छ । यिनको आराधनाले मनोरथ पूर्ण हुने विश्वास गरिन्छ ।
अघिल्लो रात गरिएको कालरात्रिको पूर्णताका लागि महानवमीमा हवन गर्ने विधान छ । यो दिन खिर, तिल र घिउ मिश्रित चरु देवीलाई हवन गरिन्छ । शक्तिपीठको दर्शन गर्ने क्रम नवमीका दिन पनि रहन्छ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ ।
दशैं तथा कोतघर लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलीसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबली नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बली दिई पायस पनि चढाउने गर्दछन् ।
अधिकांश स्थानमा महाअष्टमीको दिनमा बली दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको (वध)ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबली दिने गरिन्छ ।
महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमान ढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरिन्छ ।
पशुबली नदिनेहरुले भने आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बली दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बली दिने र महानवमीका दिन मार हान्ने चलन छ । यो दिन तलेजुको मन्दिर सर्वसाधारणका लागि खुल्छ । नवरात्रमा दुर्गाका नौ स्वरूपका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना गरिन्छ ।
देवीका तीन रूपमध्ये महाकालीलाई शक्ति, महालक्ष्मीलाई श्री र महासरस्वतीलाई विद्याकी देवी मानिएको छ । नौ दिनसम्मको नवरात्र अनुष्ठान यो तिथि (महानवमी)मा सम्पन्न गरिन्छ । नवदुर्गाको प्रसाद भने दशमीका दिन बिहान लगाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिन स्थापना गरेको घडाको जल अभिषेक गरी देवीको प्रसाद फूल अक्षता तथा जमरा मान्यजनबाट ग्रहण गर्ने परम्परा छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं