सूचनाको शक्ति - The Power Of Information

        

चाडपर्व र पर्यटकीय सिजन

७३ वर्षपछि पूर्ण क्षमतामा सञ्चालनमा ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’

गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ ११३ उडान भएका थिए । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान सङ्ख्या हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दशैं सुरु भइसकेको र पर्यटकीय याम पनि भएकाले विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ हवाई उडान बढेको हो ।

मुलुकको पुरानो र अति व्यस्त त्रिभुवन विमानस्थलमा पछिल्लो दुई दिनदेखि हालसम्मकै धेरै अन्तर्राष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । सामान्यतयाः दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा पछिल्ला दिनमा दैनिक दुईतर्फी ११० देखि ११३ उडान÷अवतरण भएको विमानस्थल कार्यालयको भनाइ छ ।

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार दशैंको घटस्थापनायता दैनिक हवाई उडानमार्फत १६ हजारदेखि १७ हजार हवाई यात्रु आवतजावत गरिरहेका छन् । उनका अनुसार गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ ११३ उडान भएका थिए । जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान सङ्ख्या हो ।

गत असोज ३० गते ११० र कात्तिक १ देखि ३ गतेसम्म दैनिक ११० भन्दा बढी अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । ‘विमानस्थलको उडान इतिहासमा यो सबैभन्दा बढी उडान हो । चाडपर्व र पर्यटकीय सिजनले पनि अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा चाप बढिरहेको छ,’ विमानस्थलका महाप्रबन्धक तिवारीले भने ।

अन्तर्राष्ट्रिय उडानतर्फ ‘वीन्टर सिजन’का लागि बढी उडानको माग रहेको उनले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । विमानस्थल कार्यालयका अनुसार अहिले आन्तरिकतर्फ दुईतर्फी दैनिक २७० उडानमार्फत करिब १४ हजार यात्रुले सेवा लिइरहेका छन् ।

महाप्रबन्धक तिवारीले विमानस्थलमा अहिले आन्तरिक र अन्तर्राष्ट्रिय दुबै गरी झण्डै ५०० उडान भइरहेको बताए । उनले भने, “दैनिक पाँच सय हाराहारी उडान निकै बढी हो, विमानस्थल स्थापना भएयता हालसम्मकै बढी उडान र यात्रु आवतजावत भइरहेका छन् ।’ विमानस्थल कार्यालयका अनुसार कात्तिक १ गते बुधबार मात्रै आन्तरिकतर्फ १५ हजार बढीले हवाई यात्रा गरेका थिए ।

उक्त दिन बुद्ध एयरले मात्रै आठ हजार ९०० यात्रुलाई सेवा दिएको थियो । सो दिन यती एयरलाइन्सले दुई हजार ६५१, श्री एयरलाइन्सले एक हजार ८३९ र सौर्य एयरले ३४० यात्रुलाई सेवा दिएका थिए । नेपाल वायुसेवा निगमको आन्तरिक उडानका विभिन्न गन्तव्यमा यात्रु भरिभराउ छन् । दुई थान ट्वीनअटर जहाज मात्रै रहेको निगमको आन्तरिक उडानमा सर्वाधिक माग रहेपनि जहाजको सीमितताले थोरै सङ्ख्यामा देशका दुर्गम भेगमा उडान भइरहेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अहिले आन्तरिकतर्फ देशका विभिन्न १६ गन्तव्यमा दैनिक २२ वटा उडान गर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिघण्टा अन्तर्राष्ट्रियतर्फ एक हजार ५०० र आन्तरिकतर्फ हरेक घण्टा ५०० यात्रु व्यवस्थापन गर्ने क्षमता छ । कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए ।

कोभिडपछि विमानस्थलमा निरन्तर हवाई उडान र यात्रु सङ्ख्या बढिरहेको विमानस्थलले जनाएको छ । नेपालकै पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो नाम गौचर मैदानलाई हवाइ मैदानको रुपमा प्रयोग गर्न सन् १९४९ बाट शुरु गरिएको थियो । पहिलो पटक ‘बीचक्राफ्ट बोनान्जा’ विमान अवतरण भएको यो विमानस्थलबाट पहिलो पटक सन् १९५० फेब्रुअरी २० मा हिमालयन एभिएसनको डाकोटा विमान कोलकात्ता उडान भरेको थियो ।

उक्त विमानस्थलको तत्कालीन राजा महेन्द्रले सन् १९५५ मा उद्घाटन गरेका थिए । सन् १९६४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण भएको थियो । यो विमानस्थलमा सन् १९६७ मा जर्मनीको लुफ्थान्सा एअरलाइन्सको बोइङ–७०७ जेट विमान पहिलो जेटविमानको रुपमा अवतरण गरेको थियो । विमानस्थल व्यापारिक प्रयोग सन् १९७२ बाट शुरु भएको हो ।

स्रोत : रासस
प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार १६:११

लोकप्रिय