२०८२ पुस २ , बुधबार 17, December 2025, Wednesday

मजदुरलाई कामकै पिरलो, दसैँको रौनकले छोएन

सत्यपाटीसत्यपाटी । बागलुङ । २०८० कात्तिक ४ गते शनिबार

गाउँ सहरमा दसैँ छाइसकेको छ । धेरैलाई दसैँ ‘सपिङ’ गर्न भ्याइनभ्याइ छ । तर कालीगण्डकी किनारमा बालुवा चाल्ने मजदुरलाई दसैँ आएको आभास छैन । दसैँले गाउँ रमाइरहेका बेलामा यहाँका मजदुर भने त्यो रमाइलोको साक्षी बन्न नपाएको अवस्था छ । ‘यसपालि दसैँ यतै बित्ने भयो,’ कास्की मादी गाउँपालिकाकी मीना दर्जीले भनिन्, ‘पैसा नभई दसैँ कसरी मनाउनु !’

पिठ्युँमा सात महिने छोरी बोकेर दिनभर बालुवा उठाउने मीनालाई दसैँमा पनि बिहान–बेलुकाको छाक टार्नेमै चिन्ता छ । त्यसैले यस वर्षको दसैँ कालीगण्डकी किनारमै बित्ने उनको भनाइ छ । मीना लगायतका धेरै मजदुर पनि यति बेला कालीगण्डकी किनारमा काम गर्नै व्यस्त छन् । गाउँघरमा दसैँ छाए पनि उनीहरु भने काम कसरी सक्ने भन्नेमै छन् ।

केही मजदुर भने कात्तिक ६ गतेसम्म काम गरी दसैँ मनाउन घर जाने योजनामा पनि छन् । ‘यहाँ काम गर्ने धेरै साथीहरु दसैँका लाग घर गइसक्नुभयो, केही काममै व्यस्त छौँ । मेरा लागि यसपालि घर जाने वातावरण बनेन,’ मीनाले भनिन् । पहिले बालुवा बिक्री राम्रो भए पनि अहिले भने खासै नभएको उनको भनाइ छ ।

‘पहिले त बालुवा बिक्री राम्रो थियो । दिनमा रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म कमाइ पनि हुन्थ्यो तर अहिले त्यस्तो राम्रो कमाइ छैन,’ उनले सुनाइन् । काली किनारमै बालुवा चाल्ने विमल सुनारले यसपालि आफूलाई दसैँले नछोएको बताए । ‘दसैँमा गाउँ जाने रहर त थियो तर खर्च नै बढी हुने भएपछि घर गइनँ,’ उनले भने, ‘बिरामी भएर अस्पताल बस्दा लागेको पाँच लाख ऋण तिरिसकेको छैन, ऋण नतिरी कसरी घर जानु !’

मध्यपहाडी लोकमार्गको अक्षते खण्डमा मजदुरीमा व्यस्त रोल्पा छुनछहारीका पदम बुढा मगरसँग पनि दर्जी र सुनारको जस्तै पीडा छ । ‘दसैँमा भने जस्तो खर्चको जोहो भएन, तिहारसम्म केही वचत भए घर जाने विचारमा छु, यसपालिको दसैँ यतै मनाइने भइयो,’ उनले भने । डेढ वर्ष भारतमा मजदुरी गरेपछि केही समयअघि मात्रै उनी यहाँ आइपुगेका हुन् । ‘भारतमा राम्रो कमाइ नभएपछि यहाँ आएको हुँ, यहाँ पनि भने जस्तो कमाइ छैन, आम्दानी नभइ घर कसरी जानु,’ उनले भने ।

प्रकाशित मिति : २०८० कात्तिक ४ गते शनिबार