सूचनाको शक्ति - The Power Of Information

        

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

चाडबाडको मुखमा खसीबोका बिक्री नहुँदा किसान निराश बनेका छन् । डडेल्धुराको भित्री मधेस क्षेत्रबाट खसीबोका लिएर महेन्द्रनगर पुगेका किसान आफूले पालेका खसीबोका बिक्री नहुँदा चिन्तित बनेका हुन् ।

परशुराम नगरपालिका–८ जोगबुढाका किसान खसीबोका बिक्री गर्न दुई दिन पैदल हिँडेर महेन्द्रनगर झरेका छन् । बाख्रापालन गरेर जीविकोर्पाजन गर्दै आएका उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च जोहो गर्न सकस परेको छ ।

‘केही वर्षयता खसीबोकाको व्यापार हुनसकेको छैन, विगतका दसैँमा सजिलै घरखर्च चलाउथ्यौँ,’ जोगबुढाका किसान जिते धामीले भने, ‘आम्दानीको स्रोत बाख्रापालन हो, बिक्री नहुँदा अब घरखर्च चलाउनै मुस्किल होलाजस्तो छ ।’

चाडबाडमा खसीबोका बिक्री नहुनुका साथै बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । भारतबाट आयात हुने खसीबोकाका कारण नेपाली उत्पादन बिक्री हुन नसकेको धामीको भनाइ छ ।

गत असोज ३० गते उहाँले १३ खसीबोका बिक्रीका लागि महेन्द्रनगर ल्याएका थिए। तीमध्ये तीन दिनसम्म दुईवटा खसीमात्रै बिक्री भएको धामीको भनाइ छ । बाख्रापालन गरेर जीवन धानेका डडेल्धुराको भित्री मधेसका किसान प्रत्येक वर्ष खसीबोका बेच्न तराई झर्ने गर्दछन् ।

गाउँबाट उधारोमा सङ्कलन गरेर ल्याएका खसीबोका बिक्री नहुँदा ऋण काढेर पैसा तिर्नुपर्ने अवस्था आएको देव धामीले बताए । ‘खसीबोका केही हामीले पालेका छन्, केही गाउँलेबाट बिक्री गरेपछि पैसा दिनेगरी उधारोमा ल्याएका छन्,’ उनले भने, ‘केही पैसा आउँला भनेर गरियो, ऋण लाग्ने अवस्था छ ।’

परशुरामबाट नौजना किसानले १५० खसीबोका बिक्रीका लागि महेन्द्रनगगर पुर्याएका छन् । तीमध्ये अहिलेसम्म ५० मात्रै बिक्री भएको उनको भनाइ छ । महेन्द्रनगरमा बस्ने व्यवस्था नहुँदा आफूहरूलाई समस्या भएको गोरे धामीले गुनासो गरे ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार १४:४०

लोकप्रिय