सूचनाको शक्ति - The Power Of Information

        

अस्थायी बसोबासका लागि भारततिर उडे ‘कर्‍याङकुरुङ’

कर्णाली प्रदेशको डोल्पा, जुम्ला, सुर्खेत र कैलाली हुँदै हजारौँ किलोमिटर उडान भरेर आएका ‘कर्‍याङकुरुङ’ सारस भारततर्फ जान थालेका छन् । उत्तरी एसियाको मङ्गोलिया, रसिया र चीनबाट आएका ‘कर्‍याङकुरुङ’ जाडो यामभरि अस्थायी बसोबासका लागि भारततिर जान थालेका हुन् ।

जाडो छल्नका लागि बसाइँ सरिरहेका ‘कर्‍याङकुरुङ’ कर्णाली प्रदेशको केही जिल्ला तथा तराईका कैलाली, कञ्चनपुर, बर्दिया, बाँकेको आकाशबाट भारतको राजस्थानतर्फ गइरहेको सजिलै देख्न सकिन्छ । असोजदेखि भारततिर जान सुरु गरेको ‘कर्‍याङकुरुङ’ निरन्तर समूह नै बनाई उतै गइरहेको चराविद् हिरूलाल डङ्गौराले बताए ।

‘केही दिनसम्म अझै यिनीहरूको बसाइँसराइ जारी रहन्छ,’ उनले थपे । उत्तरी देश चीनसहित मङ्गोलिया, रसियामा चिसो सुरु भएपछि त्यहाँ रहेका ‘कर्‍याङकुरुङ’ भारततिर बसाइँ सर्ने गरेको जनाइएको छ । हजारौँ किलोमिटर टाढाबाट आउने यी चरा भारत झर्ने क्रममा नेपालको माथिल्लो मुस्ताङस्थित समर–धौलागिरि हिमालको पश्चिम र डोल्पा गरेर दुई वटा रुटमा उड्ने गर्छन् ।

मुस्ताङ हुँदै आउने ‘कर्‍याङकुरुङ’ भेरी नदी करिडोर भएर भारततर्फ जान्छन् । डोल्पा हुँदै आएका ‘कर्‍याङकुरुङ’ सारस कर्णाली कोरिडोर भएर भारततर्फ जाने गरेको जनाइएको छ । यो वर्ष कैलालीको भजनी, टीकापुर, कञ्चनपुरको शुक्लाफाँटास्थित तारापुर पोस्ट र बाँके, बर्दिया भएर ‘कर्‍याङकुरुङ’ सारस भारततर्फ गएको डङ्गौराले बताए । यी चरा अङ्ग्रेजी अक्षरको भी आकार बनाएर आकाशमा उड्ने गर्छन् ।

भारततर्फ जाने बेला ‘कर्‍याङकुरुङ’ ले चार हजार ८९६ किलोमिटर उडान भर्ने गर्छन् । जाने बेलाको यात्रा १३ देखि ४० दिन लामो हुने गरेको जनाइएको छ । सो क्रममा आहाराको खोजीमा तराईका विभिन्न ठाउँमा बास बस्ने गर्छन् । जाडो याम सकिन थालेपछि पाकिस्तान, अफगानिस्तान, किर्गिस्तान लगायतका देश हुँदै फेरि यी चरा रसिया, मङ्गोलियाका लागि फर्कने गरेको जनाइएको छ ।

फर्कने क्रममा ‘कर्‍याङकुरुङ’को उडान ६५ देखि ६६ दिनसम्मको हुने गरेको छ । यस क्रममा ‘कर्‍याङकुरुङ’ले छ हजार ३४ किलोमिटरसम्म उडान भर्ने गरेका छन् । हजारौँ किलोमिटर उडान भरेर भारततर्फ गएका ‘कर्‍याङकुरुङ’ राजस्थानको खिचनमा पाँच महिनासम्म बिताउने गरेको छ । माघ र फागुनमा फेरि रसिया, मङ्गोलियातिर फर्कने गरेको चराविद् डङ्गौराले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार १४:३८

लोकप्रिय