सूचनाको शक्ति - The Power Of Information

        

‘महँगीले चाडपर्व मान्न धौ धौ भयो’

रघुगङ्गा गाउँपालिका–३ का सम्मर दर्जीलाई दसैँको खर्च जुटाउन सकस परेको छ । प्रवासमा रहेका छोराले पठाएको दसैँ खर्चले बजारमा घरपरिवारका लागि एक–एक जोर नयाँ कपडासमेत किन्न नपुगेपछि उनी निराश बनेर गाउँ फर्किए ।

‘घरखर्चदेखि लत्ताकपडासम्म किन्न पुग्छ कि भनेर बजार झरेको थिएँ, आधा सामान पनि किनमेल गर्न पुगेन, दसैँको अरू तयारी त गर्नु छँदैछ, महँगीले हामीलाई चाडपर्व मनाउनै समस्या छ,’ दर्जीले भने ।

मालिका गाउँपालिका–२ रुमबाट बेनीमा चाडपर्वलाई लक्षित गरी सामान किन्न आएका रमेश पुनले बजारमा सामानको मूल्य आकासिएको पाएको बताए । विगतका वर्षको तुलनामा यस वर्ष सामानको भाउ आकासिएको र घरपरिवारका लागि आवश्यक पर्ने किनमेल गर्न मुस्किल परेको अनुभव सुनाए ।

‘दरबाङ बजारमा भन्दा बेनीमा केही सस्तोमा सामान पाइन्छ कि भनेर आएको थिएँ, कहाँ सस्तोमा पाउनु, उल्टै गाडीभाडा र समय खेर गयो, चाडपर्व मनाउन पनि धौधौ हुने स्थिति आयो,’ उनले भने । बजारमा अहिले दैनिक उपभोग्य सामग्रीसहित लत्ताकपडा, सजावट र घरायसी सामानको मूल्य आकासिएको छ ।

विगतका वर्षको तुलनामा यस वर्ष बजारमा ५० प्रतिशतदेखि ७० प्रतिशतसम्म नै महँगी बढेर सामान आएको व्यवसायीहरू बताउँछन् । आफूहरूले खरिद गर्दा नै मूल्य बढेका कारण विगतको तुलनामा बजारमा सामग्रीको मूल्य केही बढेको उनीहरूको भनाइ छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले खाद्यान्नमा ६० प्रतिशतसम्म मूल्य बढेर आएको र त्यसको प्रत्यक्ष मार सर्वसाधारण र व्यवसायीलाई समेत परेको बताए । चामल, जिरा लगायत खाद्य सामग्रीको मूल्य गत वर्षभन्दा दोब्बर भएको छ । तेल, चिनीलगायतका सामग्रीको मूल्यसमेत बढेर आएको छ ।

‘जिल्लामै कृत्रिम मूल्य बढेको छैन, हामीले व्यवसायीलाई निरन्तर सचेत गराइरहेका छौँ, माथिबाट आउँदा नै मूल्य अस्वाभाविकरूपमा बढेको हो, मूल्य बढेपछि स्वाभाविकरूपमा चाडपर्व खर्चिलो हुने देखिएको छ,’ अध्यक्ष कटुवालले भने । बजारमा मूल्य बढेसँगै व्यापार व्यवसायमा पनि गिरावट आएको छ ।

अन्य समयको तुलनामा चाडपर्वको समयमा व्यापार बढे पनि विगतका वर्षको तुलनामा व्यवसाय खस्किएको म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष दसैँको समयमा ३० प्रतिशत व्यापार कम भएको उनको भनाइ थियो । व्यापार व्यवसाय घट्नुमा बजारमा अस्वाभाविक मूल्यवृद्धिसँगै गाउँमा बसोबाससमेत कम हुँदै जानु अर्को कारण बनेको जानकार बताउँछन् ।

म्याग्दीको जनसङ्ख्या घट्दो क्रममा हुँदै जानु, गाउँ–गाउँमा बसाइसराइका कारण रित्तिँदै जानुले पनि उपभोक्ता घट्दै गएको हुनसक्ने व्यवसायीको अनुमान छ । देशव्यापीरूपमा आर्थिक सङ्कटको प्रभावले पनि धनी र हुनेखाने परिवारले समेत चाडपर्वमा खुलेर खर्च गर्न सक्ने अवस्था बनेको छैन । यस वर्ष बजारमा भेडाच्याङ्ग्राको मूल्यसमेत अस्वाभाविकरूपमा बढेको छ ।

हिमाली क्षेत्रमा पालन गरेर दसैँलाई लक्षित गरेर बजारमा ल्याइएका भेडाच्याङ्ग्राको मूल्य ५० हजारसम्म पुगेको छ । भेडाच्याङ्ग्रामा प्रतिगोटामै गत वर्षभन्दा रु १० हजार बढी मूल्य बढेको छ । दसैँकै समयमा बजारमा अत्यधिक खपत हुने स्याउको मूल्यसमेत बढेको छ । अघिल्लो वर्ष प्रतिकिलो रु.२०० मा खरिद बिक्री हुने स्याउ अहिले बजारमा प्रतिकिलो रु.२५० पुगेको छ ।

बजारमा बढेको मूल्यवृद्धिको नियन्त्रणमा सरकारले ध्यान नदिँदा सामान्य नागरिकले दसैँ लगायतका चाडपर्वलाई सकसपूर्ण तवरले मनाउनुपर्ने अवस्थामा पुगेका छन् । भड्किलो तवरले चाडपर्व मनाउने संस्कारले समस्यामा परेका सर्वसाधारण नागरिक बजारमा बढेको मूल्यवृद्धिले चाडपर्वलाई खर्चिलो तवरले मनाउनुपर्ने बाध्यतामा पर्ने गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार १४:२३

लोकप्रिय