सूचनाको शक्ति - The Power Of Information

        

गैरआवासीय नेपाली संघको विवाद : साइबर क्राइममा निवेदन

 गैरआवासीय नेपाली संघको विवाद झनै बढ्दै गएको छ ।

कार्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो । अहिलेको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भएपनि यसलाई मान्यता दिन नसकिने पराजित पक्षले बताएको छ ।

महासचिवका उम्मेदवार रहनुभएका बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरेअनुसारको नभएको र भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अस्टे«लियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताउनुभयो ।

अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरेपनि अहिले प्रमाणित भएको बताउनुभयो । महासचिवका उम्मेदवार सुवेदीले यस नतिजाले ८० लाख गैर आवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको बताउनुभयो ।

उहाँले उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत नेपालबाट खसेको शुन्य मत रहेकाले पनि प्रमाण स्वतः सिद्ध हुने बताउनु भयो । उहाँले साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको बताउनुभयो । उहाँले परराष्ट्र मन्त्रालयले पछिल्लो आफ्नो जानकारीअनुसार निर्वाचन प्रक्रियालाई स्थगत गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको उल्लेख गर्नुभयो ।

त्यस्तै, निर्वाचित उपाध्यक्ष हेमराज शर्माले अनलाइन भोटिङबाट आएको परिणामलाई पनि स्वीकार गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले एक उपाध्यक्षका उम्मेदवारको नेपालबाट खसेको मत शुन्य हुनु समस्याको जड रहेको बताउनुभयो ।

उहाँले शुन्य हुनु नहुनुपर्ने भएपनि मत नहराएको तर टेबुलमा मत गणना गर्न त्रुटी भएको हुनसक्ने बताउनुभयो । शर्माले भेरो आएर यथार्थलाई भनिदिनुपर्ने बताउनुभयो । उहाँले पुनः गणना गर्नुपरे पनि आफूहरु तयार रहेको बताउनुभयो ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार १७:१२

लोकप्रिय