सूचनाको शक्ति - The Power Of Information

        

दसैँमा सामूहिक सन्देश पठाउन टेलिकमले ल्यायो ‘ग्रुप एसएमएस’, कति लाग्छ शुल्क ?

नेपाल टेलिकमले बडादसैँको अवसरमा सामूहिक रुपमा शुभकामना सन्देश पठाउन आफ्ना विभिन्न प्याकेज सर्वसाधारणका लागि फलदायी हुने जनाएको छ । पहिलादेखि नै सञ्चालनमा रहेको ‘ग्रुप एसएमएस’ सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बर देखिने गरी १० हजारसम्म मोबाइल नम्बरमा सन्देश (एसएमएस) पठाउन सकिने टेलिकमले जनाएको छ ।

यस अनुसार २ हजार, ५ हजार र १० हजार वटासम्म मोबाइल नम्बरमा सन्देश पठाउन सकिने सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा उपलब्ध रहेको टेलिकमले जनाएको छ । प्रति सन्देश ५० पैसामा पठाउन सकिने प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा १००० रुपैयाँ लाग्ने जनाइएको छ ।

२ हजार ५०० रुपैयाँमा ५ दिनभित्रमा ५ हजार एसएमएस पठाउन सकिने छ भने ५ हजार रुपैयाँमा १० दिनभित्रमा १० हजार एसएमएस पठाउन सकिने व्यवस्था रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश नरहेको पनि टेलिकमले प्रस्ट पारेको छ ।

यो सेवाप्रयोग गर्न प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्ने र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने पनि जनाइएको छ । यो सेवाप्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत् अपलोड गरी सन्देश पठाउन सक्ने जनाइएको छ । एक्सेल सिटमार्फत एक पटकमा १ हजार नम्बरहरुलाई पठाउन सकिने हुँदा १ हजारभन्दा बढीको लागि फेरि यही प्रक्रिया दोहोर्याई आफूले चाहे बमोजिमका मोबाइल नम्बरमा सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार १६:४५

लोकप्रिय