दशैँ र मासु अहिले नेपाली समाजमा एक अर्काको परिपुरक नै भएका छ र मासुको उपभोग अत्यधिक हुने गरेको छ । दशैंको उल्लासमा मासु विशेष परिकारको रुपमा अगाडि आउँछ । मासु विनाको दशैं कतिका लागि खल्लो हुनसक्छ । दशैको लागि राँगा, भैंसी, बोका, च्याङ्ग्रा, कुखुरा, हास, माछा लगायत थरीथरीका मासु पाक्ने गर्छ ।
मासु स्वास्थ्यका लागि एकदमै लाभदायक खाना भएतापनि यसलाई पकाउँदा वा खाँदा केही कुरामा विचार पुर्याउन आवश्यक हुन्छ । अघिपछि दैनिक पकाउने गरेपनि दशैंको लागि एक पटक धेरैमात्रामा मासु पकाएर राख्ने चलन रहेको छ । राम्रोसँग पकाए मासुमा रहेका हानिकारक जीवाणु नष्ट हुन्छन् तर कम पकाएको मासुमा त्यस्ता जीवाणु रहिरहन्छन् जसले रोगी बनाउन सक्छ ।
धेरै मोटो तथा बोसो भएको खसी पनि रोज्नुहुँदैन । धेरै मोटो खसीमा ३० प्रतिशतसम्म बोसो हुन सक्ने भएकाले त्यस्तो मासुले पाचनक्रिया, मुटु तथा दीर्घरोगीहरुमा प्रतिकूल असर गर्छ । खसी मार हान्ने वा मासु तयार गर्ने ठाउँको सफाइमा पनि ध्यान पुर्याउनुपर्छ । यस्तो ठाउँ सतह मिलेको, जमिनलाई नछोएको तथा सफा गर्न मिल्ने हुनुपर्छ । सामान्यतया खसीको मासु पखाल्ने चलन छैन तर मासुलाई सफा पानीले पखाल्नु राम्रो हुन्छ ।
धेरै परजीवी बस्ने ठाउँ तथा आन्द्राको सफाइमा विशेष ध्यान दिनुपर्छ । त्यस्तै छालाको बाहिरी तहमा भएका रौंका जरामा विभिन्न हानिकारक तङ्खव तथा फन्जाइहरु हुन सक्छन् । त्यसैले छालाको सफाइमा पनि पर्याप्त ध्यान दिनुपर्छ । छालाको तल्लो सतहमा पातलो बोसोको तह हुन्छ । त्यसमा कोलेस्ट्रोल (एक किसिमको चिल्लो पदार्थ) बढी हुने भएकाले मोटा मानिसले छाला खानु हुँदैन । दसैंको मासु एकै दिनमा सकिँदैन । त्यसैले मासुलाई भण्डार गर्नैपर्छ ।
मासु चुलोको छेउमा झुन्ड्याएर राख्ने चलन छ । मासुलाई पाँच डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रममा भण्डारण गर्नुपर्छ । त्यसैले भए फ्रिजमा नभए झिँगा नभन्किने, मुसा नलाग्ने, सुख्खा तर चिसो ठाउँमा राख्नुपर्छ । कलेजो, मुटु, फोक्सो जस्ता नरम मासु भण्डार गर्न सुख्खा बनाउनुपर्छ । अन्यथा लामो समय भण्डारण गर्नुहुँदैन । धेरैलाई मासु खाएपछि पखाला लाग्छ कि भन्ने चिन्ता हुन्छ । तर मासु सजिलै पच्ने खानेकुरा हो ।
त्यसैले मासु खाएर पखाला चल्ने अथवा अपच हुने हुँदैन । मासुमा धेरै तेल, मसला प्रयोग गरियो, मासु अस्वस्थ र असुरक्षित छ भने पेटको गडबडी हुन सक्छ । त्यसैले धेरै चिल्लो, मसालेदार मासुको परिकार बनाउनु वा धेरै फ्राई गर्नु राम्रो होइन । अत्यधिक मात्रामा मासु, अचार तथा चिल्लो–पिरो र त्यसमाथि मद्यपानका कारण पेट ढाडिन, दुख्न, अपच हुन, मुखमा अमिलो पानी आउन तथा कसैकसैलाई पखाला लाग्न सक्छ । बालबालिका, युवा तथा वयस्कले जति मासु खाए पनि चिन्ता गर्नुपर्दैन ।
हामीले मासु किन्दा र वनाउदा विशेष ध्यान दिन जरुरी छ । जनावर स्वस्थ छ कि छैन, मरेको जनवार हो कि हैन ? र त्यसमा बोसो कति छ? वोसो भएको खण्डमा त्यसमा रहेको बोसोलाई हटाउनुपर्छ । सामान्यता कागतिको रसले मोलेर यस्को वोसो हटाउन सकिन्छ । मासुलाई तेलमा तार्ने, अत्यधिक मरमसला हाल्ने गर्नाले स्वास्थ्यलाई नोक्सान पुर्याउँछ ।
ओभनमा रोस्ट गर्ने वा बोइलिङ गर्ने, ग्रिल गर्ने, प्रेसर कुकरमा हालेर छोटो समयमा पकाउने वा थोरै तेलमा उच्च तापमा पकाउने गर्नाले मासु स्वस्थ रहन्छ । धेरै तेलमा लामो समससम्म फ्राइ गर्नु राम्रो मानिँदैन । खासगरी, रातो मासुमा स्याचुरेटेड चिल्लो बढी हुने हुनाले त्यो बिरामीका लागि घातक मानिन्छ । स्याचुरेटेड चिल्लोले कोलेस्टेरोलको मात्रा बढाउँछ, जसले रक्तप्रवाहमा अवरोध लगायतका समस्या उत्पन्न हुन्छ । त्यसैले शरीरमा उच्च कोलेस्टेरोल हुने व्यक्तिले रातो मासु सकेसम्म कम खानुपर्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं