सूचनाको शक्ति - The Power Of Information

        

बजारमा चिनी सहज बन्दै

काठमाण्डाै उपत्यकामा उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै कारोबार केही सहज बन्न थालेको छ ।

उद्योगीसँग खरिद गरेको चिनी बजारमा आउन थालेसँगै सहज हुन थालेको नेपाल खुद्र व्यापार सङ्घले जनाएको छ । सङ्घका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीका अनुसार अस्ति बुधवार प्रति बोरा ५० किलोका ३ सय ८५ बोरा चिनी बजार पठाइएको छ ।

यस्तै, हिजो ३ सय ८२ बोरा चिनी  गएको छ । थप चिनी आज बजारमा जाने उहाँले बताउनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकाका सबै ठाउँमा चिनी पुर्याउन उपत्यकामा रहेका सङ्घका सबै प्रतिनिधिलाई खटाइएको छ । यसरी बजारमा गएको चिनीको मूल्य किलोको ११५ रुपैयाँ तोकिएको छ ।

बजारमा चिनीको अभाव भएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चिनी उद्योगी र व्यापारीबीच छलफल गरेर पेय पदार्थहरूका लागि खरिद गरिएको चिनी खुद्रा व्यापारीले खरिद गरी बिक्री गर्ने व्यवस्था मिलाएको हो ।

विभागसँगको समन्वयमा नेपाल खुद्रा व्यापार सङ्घले चिनी बिक्री गर्न थालेको हो । यसरी बिक्री भइरहेको चिनीको मूल्य किलोको ११५ रुपैयाँ निर्धारण गरिएको वाणिज्य विभागका महानिर्देशक तीर्थराज चिलुवालले जानकारी दिनुभयो । किलोको ११५ रुपैयाँभन्दा बढी लिए विभागमा उजुरी दिन उपभोक्तालाई उहाँको आग्रह छ ।

बजारमा पेयपदार्थका लागि उद्योगीसँग मौज्दातमा रहेका चिनी पठाउन थाले पनि ढुवानी भाडा बढी लाग्न थालेपछि बिक्रेताहरुले बिक्री गर्न रुचि देखाएका छैनन् । यसले गर्दा सबै उपभोक्तामाझ चिनी पुर्याउन भने समस्या देखिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार ११:५९

लोकप्रिय