सूचनाको शक्ति - The Power Of Information

        

सन्दर्भ : बडादसैं

दसैं महिमा : नाम एक, महत्त्व अनेक

दसैं पर्वलाई दानवी शक्तिमाथि विजय हासिल गरेको दिनको खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने सांस्कृतिक मान्यता रहिआएको छ ।

दसैं पर्वको सांस्कृतिक महत्त्व टीका लगाउनु मात्र नभई सामाजिक, आर्थिक, स्वास्थ्य, त्याग, निष्ठा र पराक्रमसँग पनि गाँसिएको विभिन्न वेदपुराणमा उल्लिखित छ । दसैंलाई असत्यमाथि सत्यको विजय भएको दिनको खुसीयालीमा मनाउने गरिए पनि यसभित्र पारिवारिक मिलन, आफन्त, सामाजिक बन्धुत्व, भाइचारा पनि लुकेको छ । हिन्दु धर्मावलम्बीले श्रद्धा र भक्तिसाथ मनाउने दसैं पर्वले टाढा भएकालाई नजिकियाउने र नजिकका घरछिमेक, दाजुभाइ, आफन्त, परिवार सबैमा खुसी साटासाट गर्ने अवसर जुटाउने गर्छ ।

दसैंलाई बडादसैं, दशहरा, विजयादशमी, नवरात्र आयुध–पूजालगायतले सम्बोधन गरिँदै आएको छ । नेपालीको राष्ट्रिय चाड दसैं (नवरात्र) हिन्दु धर्मावलम्बीले असोज शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गरी दसौं दिन दशमीका दिन आफूभन्दा ठूला मान्यजनको हातबाट टीका–प्रसाद ग्रहण गरेर टीका लगाउने गर्छन् । यो क्रम विशेष रूपमा पूर्णिमासम्म चल्छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ ।

प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नवदुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधना गरिन्छ । विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको अवसरको खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने सांस्कृतिक मान्यता रहिआएको छ । असोजको शुक्ल पक्षको दशमी तिथि दसैं पर्वको प्रमुख दिन हो ।

यसलाई असत्यमाथि सत्यको विजयको रूपमा लिइन्छ । यसकारण दशमीलाई विजया दशमी भनिएको हो । आफ्ना नाता कुटुम्ब ठूलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ कपडा लगाउने, आफ्नो क्षमताअनुसार मीठो खाना खाने, खुवाउने, घरआँगन, बाटाघाटा, गाउँबस्ती सफा राख्नेजस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । दसैं वर्षका तीन शुभ तिथिमा पर्छन्, चैत्र (चैत)को शुक्लको एवं कात्तिक शुक्लको प्रतिपदा तिथि । यी दिनमा हिन्दु धर्मावलम्बी नयाँ काम थाल्छन् । शस्त्रको पूजा गर्दछन् ।

विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति–पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । दसैं हर्षोल्लास तथा विजयको पर्व हो । हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको मानिन्छ । दसैं पर्वले दस प्रकारका पाप, काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिन्छ ।

टीका, जमरा, दक्षिणा र आशीर्वादको महत्त्व

बडादसैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म मानिने विशेष पर्व हो । आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो नेपालीको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो । त्यसमा पनि विजयादशमी मुख्य दिन हो । त्रेता युगमा यही दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको वध गरेको सम्झनामा यस चाडलाई विशेषगरी मनाइन्छ ।

दसैंलाई असत्यमाथि सत्यको विजयको रुपमा हेरिन्छ । दसैंले छुट्टै आनन्दानुभूति दिलाउँछ । यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनक बनाइदिन्छ । दसैं पर्वमा मालश्री वा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ । देश–विदेश वा टाढा भएका साथीभाइ, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समय जुट्छ । दसैमा दक्षिणा, टीका, जमरा र पिङ खेल्नुको खास अर्थ र महत्त्व रहेको छ ।

दसैंका प्रमुख चार दिनको महत्त्व

महासप्तमी

नवरात्रिको सातौं दिन फूलपाती पर्छ । नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लव घर–घरमा भित्र्यान्छ । वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवा घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक किटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहँदैनन् भन्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहिआएको छ ।

यस दिन सदर टुँडिखेलमा फूलापाती बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यो दिन विशेषगरी महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । यसै दिन गोरखा दरबारको दसैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई परेड र बढाइँका साथ हनुमानढोका दरबारमा भित्र्याइन्छ ।

महाष्टमी

नवरात्रिको आठौं दिन महाष्टमीमा महाकाली–भद्रकालीको विशेष पूजाआजा गरिन्छ । देवीभागवत्अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने शक्तिशाली भद्रकाली (करोडौं योनी–शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएकाले पूजा गर्ने चलन रहिआएको छ । पूजापछि मानिस नवदुर्गा, आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिन्छ्न् । शाकाहारीहरूले नरिवल, कुभिन्डो, केरा, घिरौला, आदि फल अर्पण गर्दछन् । महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ ।

महानवमी

नवरात्रिको नवौं दिन महानवमीमा विशेषगरी सिद्धिधात्री देवीको पूजा–आजा गरिन्छ । यसै दिन बिहान कलपुर्जा, हातहतियार तथा सवारीसाधन आदिलाई बलि दिई विश्वकर्माको पूजा सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेषगरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याको पनि पूजाआजा गरिन्छ । बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु भन्ने हुन्छ । नवदुर्गाका प्रसादले काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, इष्र्या, द्वेष, छल, कपट, यी दश प्रकारका अवगुण हटून् र सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भावले सबै दश अवगुणको त्याग गर्दै आएकामा पछिवाट कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मान्दै बलि चढाउने चलन आएको मानिन्छ ।

विजयादशमी

नवरात्रिको दसौं दिनलाई विजयादशमी भनिन्छ । असोज शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजयादशमी भन्ने बुझ्नुपर्छ । यो दशैंको खास दिन हो । यस दिनमा भगवान रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको कथन छ । यस दिन घरघरमा सबैभन्दा पाका व्यक्तिले सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न विशेष पूजा गरिन्छ ।

तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आह्वान र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा र अन्य देवदेवीहरूलाई चढाएर आरती र पुष्पाञ्जली गर्ने गरिन्छ । यति गर्नाले कसैले पनि आफूमाथि दमन गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राखिन्छ ।

देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजागाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । त्यसपछि घरका मूल मान्छेले नवदुर्गा भगवतीको प्रसादस्वरुप अबीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्, लिन्छन् । सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैंका लागि तयार पारी राखिएको नयाँ लुगा, गहना लगाई टीका लगाउन जान्छन् । यस दिन पिङ खेल्यो या भुइँबाट खुट्टा छाड्यो भने मरेपछि स्वर्ग गइन्छ भन्ने मान्यता रहेको छ ।

दसैंको आशीर्वाद

आशीष अर्थात् आर्शीवाद । आफ्नो उन्नति, प्रगति, दीर्घायुका लागि मान्यजनले राख्ने सदिच्छा । दसैंमा प्रायः आफूभन्दा ठूला, मान्यजनबाट टीका लगाएर आशीर्वचन दिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशीष हाम्रा निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । ठूलाबडाले आफूभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ । सही संस्कार दिनुपर्छ भन्ने सन्देश पनि हो, यो ।

दसैंमा टीका लगाउँदा पुरुषलाई दिइने आशीष

‘आयु द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।’

यसको अर्थ

द्रोणपुत्र अस्वत्थामको जस्तो लामो आयु अर्थात दीर्घायु हुनू । दशरथ राजाको जस्तो धनसम्पत्ति होस् । भगवान रामको जस्तो शत्रु नाश होस् । नहुष राजाको जस्तो ऐश्वर्य होस् । पवनसुत हनुमानको जस्तो गतिशीलता होस् । दुर्योधनको जस्तो मान होस् । सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् । हलधर बलरामको जस्तो बल होस् । कुन्ती पुत्र युधिष्ठरजस्तो सत्यवादी हुनू । विदुरको जस्तो ज्ञान होस् । भगवान् नारायणको जस्तो कीर्ति वा प्रसिद्धि होस् भन्दै मान्यजनवाट आशीर्वाद लिइन्छ ।

दसैंमा टीका लगाउँदा महिलालाई दिइने आशीष

‘जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।’

यसको अर्थ

जयन्ती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस् । मंगला देवीको जस्तो स्वतन्त्र, मुक्ति देवीको रूपमा प्रसिद्धि होस् । काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनू । भद्रकालीको जस्तै भद्र, खुसी, मंगल हुनू । कपालिनी देवीको जस्तो दुष्मनका लागि भयानक हुनू । दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नू । क्षमाकी देवीले जस्तै क्षमा दिनू । शिव देवीजस्तै कल्याणकारी र सर्वशक्तिमान हुनू । धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नू । स्वाहा देवीले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दानपुण्यको संकल्प लिनू ।

दसैं टीकाको महत्त्व

दसैंमा आफूभन्दा ठूला मान्यजन र आफन्तबाट आशीर्वाद लिन निधारमा टीका थापिन्छ । यसरी मान्यजनले आशीष दिँदै लगाइदिने टीकाको पनि निकै अर्थ छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ । गाईको दूधको दही, चिनी, जिठोको रातो रंगमा मिश्रण गरिएको चामलको टीका निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ । यो दुवै आँखीभौं माझमा हुन्छ । यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ ।

दसैंको जमरा

दसैंमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । घटस्थापनाको दिन राखेको जौको जमरा टीका थाप्नेको टोपीभित्र, टाउकोमा कपालभित्र वा कानमा आशीर्वाद दिँदै राखिन्छ । जमरा राख्ने आफ्नै खास विधि छ । मन्त्र छ । अँध्यारो स्थान, जहाँ सूर्यको प्रकाश आउँदैन, त्यहाँ शुद्ध माटोमा जौ छरेर जमरा उमारिन्छ ।

धर्मशास्त्रले यसलाई समृद्धिको प्रतीक मानेका छन् । वैदिक ग्रन्थहरूमा जौलाई रोग हटाउने यज्ञ–यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रुपमा लिइएको छ । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्न हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगमा फाइदा मिल्छ ।

दसैंको दक्षिणा

दसैंमा टीका थाप्न आएका छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई दिइने धन, वा द्रव्य नै दक्षिणा हो । विजयदशमीको दिन आ–आफ्नो गच्छेअनुसार मान्यजनबाट टीका लगाइसकेपछि दक्षिणा दिने गरिन्छ । सुख, शान्ति, शक्ति र समृद्धिको कामना गर्दै दिइएको दक्षिणालाई घरमा राख्नु लक्ष्मीलाई भित्र्याउनु हो भन्ने सांस्कृतिक मान्यता रहिआएको छ ।

(इतिहास एवं संस्कृतिविद् हरिराम जोशीसँगको वार्तामा आधारित ।)

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार ०८:०८

लोकप्रिय