सूचनाको शक्ति - The Power Of Information

        

भारतले बङ्लादेशलाई ७ विकेटले हरायो, विराट कोहलीको शतक

आईसीसी विश्व कप क्रिकेटमा भारतले बङ्लादेशलाई ७ विकेटले हराएको छ । गएराति पुनेमा भएको खेलमा भारतले बङ्लादेशलाई हराएको हो ।

 बङ्लादेशले दिएको २ सय ५७ रनको लक्ष्य भारतले ४१ ओभर ३ बलमै मात्र ३ विकेट गुमाएर भेट्टायो । भारतका लागि विराट कोहलीले १ सय ३ रनको शतकीय पारी खेले ।

यस्तै, सुभमन गिलले ५३ रनको अर्धशतकीय पारी खेले भने कप्तान रोहित शर्माले ४८ रन बनाए । त्यसैगरी, केएल राहुल ३४ र श्रेयस ऐरले १९ रनको योगदान गरे ।

बङ्लादेशका मेहदी हसन मेराजले २ तथा हसन महमुदले १ विकेट लिए । त्यसअघि ब्याटिङ गरेको बङ्लादेशले ८ विकेटको क्षतिमा २ सय ५६ रन बनाएको थियो ।

बङ्लादेशका लागि लिटोन दास र तान्जिद हसनले अर्धशतकीय पारी खेले । लिटोनले ६६ र तान्जिदले ५१ रनको योगदान गरे । यस्तै,  महमुदुल्लाहले ४६ र मुश्फिकुर रहिमले ३८ रनको योगदान गरे । अन्यको प्रदर्शन खासै उल्लेख्य रहेन । भारतमा जसप्रित बुम्राहा, मोहमद सिराज र रबिन्द जडेजाले २–२ विकेट लिए ।

सार्दुल ठाकुर र कुलदीप यादवले एक/एक विकेट लिए । भारत चारमा चारवटै खेल जित्दै ८ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । समान ८ अङ्क रहेको न्युजिल्यान्ड रनरेटका आधारमा शीर्ष स्थानमा छ । चार खेलमा एक खेल मात्रै जितेको बङ्लादेश सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार ०६:५२

लोकप्रिय